नुवाकोटमा तीनसय जना एचआइभी संक्रमित
बिदुर – विभिन्न कारण नुवाकोटमा एचआईभी संक्रमित वढेका छन् । पहाडि संरचना रहेको नुवाकोटमा हालसम्म झण्डै तीनसय जना एचआईभी संक्रमित रहेका छन् ।एचआईभी संक्रमित सम्बन्धी बिदुरमा आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

एचआईभी संक्रमितलाई लान्छना र भेदभाव न्यूनीकरण आवस्यक रहेको र यस सम्वन्धि कार्यक्रम गरिएको हो । समाजमा विद्यमान एचआईभी सम्बन्धित लाञ्छना र भेदभाव न्यूनीकरणका लागि सम्बन्धित तथा जनप्रतिनिधिहरूलगायत सरोकारवालालाई सहभागी गराई कार्यक्रमको अपनत्व अभिवृद्धि गराउने उद्धेश्यले नुवाकोटको विदुरमा मंगलवार एचआईभी संक्रमित सम्बन्धी लान्छना तथा भेदभाव न्युनीकरण गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित व्यक्तिहरू, मुख्य जोखिम समूह र सरोकारवालाबीच यस सम्वन्धि अन्र्तक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा नुवाकोटमा हालसम्म दुईसय ९८ जना एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।

जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा एचआईभी सम्बन्धी सचेतना अभिवृद्धि, विभेद न्यूनीकरण तथा संक्रमित व्यक्तिहरूको अधिकार र सम्मानको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा नुवाकोटमा पहिचान भएका दुईसय ९८ जना एचआइभी संक्रमितमध्ये एकसय ९९ जनाले त्यस विरुद्धको औषधि एआरटी सेवन गरिरहेका छन् । कार्यक्रममा नुवाकोटको दुपचेश्वर गाउंपालिकामा ६८, बिदुर नगरपालिकामा ३८, तादी गापामा २६ जना एचआइभी संक्रमित रहेको विवरण सार्वजनिक गरिएको छ ।

जसमध्ये आप्रवासी २८, सिरिन्जमार्फत २०, यौनकर्मी १० र अन्य एकसय २९ जना रहेको विवरण प्रस्तुत गरिएको छ । एचआइभी संक्रमितको स्वास्थ्य सुरक्षा, सचेतना, परामर्श र हेरचाह तथा एचआइभी संक्रमितको लागि सामाजिक तथा स्वास्थ्य सुरक्षा, लान्छना र भेदभाव नियन्त्रण आवस्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले वताए । उनले एचआइभी संक्रमण हुनु भन्दा पहिले नै आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।


























































