मनहरीमा मानसिक रुपमा असक्त गिरीलाई घरमै प्रजिअ पाण्डेले दिए नागरिकता
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ स्थित रहेको एक मानसिकरूपमा पूर्ण अशक्त ३२ वर्षिय लिलावती गिरीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।
नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन नसक्ने अवस्था रहेकोले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आज (शनिबार) घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
उनको घरमै पुगी मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती समेतको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको थियो ।
नागरिकता विहिनताको कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रमुख जिल्ला अधिकारीले बताए । यसरी घरमै आई मानसिकरूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठूलो राहत महसुस भएको निजको दाइ (संरक्षक)ले खुशी व्यक्त गरेको थियो ।











































