हनुमानढोका दरबार क्षेत्रका ३० सम्पदाको पुनर्निर्माण
भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन्। क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। केही कोरोनाका भाइरसका कारण रोक्नु परेको सम्पदा पुनर्निर्माणको कामले अहिले तीव्रता पाएको छ।
गोर्खा भूकम्पले पूर्ण रूपमा भत्किएको सम्पदा अहिले तीव्र रूपमा पुनर्निर्माणका क्रममा छन्। केहीको अझै काम सुरु गरिएको छैन। यस क्षेत्रका ३० सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन्। यहाँ रहेका ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन। भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयनकक्ष, त्रिभुवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ।
त्यसैगरी दश अवतार र काष्ठमण्डपको पुनर्निर्माण काम अन्तिम चरणमा पुगेको छ। अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै क्षतिग्रस्तमध्ये १७ सम्पदाको पुनर्निर्माणको काम हुन नसकेको हो।











































