प्रदेश योजना आयोगका उपाध्यक्ष पन्त र सदस्यले लिए सपथ
मकवानपुर । बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.कृष्णराज पन्त नियुक्त भएको छ । डा.पन्तको नियुक्तिसँगै अढाई वर्षपछि प्रदेश नीति तथा योजना आयोगले उपाध्यक्ष पाएको छ । तत्कालिन उपाध्यक्ष डा.खिमलाल देवकोटाले २०७६ साल असार अन्तिममा राजिनामा दिएपछि लामोसमय योजना आयोग उपाध्यक्षविहिन थियो । प्रदेश सरकारको गत शुक्रबार बसेको बैठकले पन्तलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।
यस्तै सदस्यमा पहिलो संविधानसभा सदस्य समेत रहेका मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरेको छ । उपाध्यक्ष पन्त र सदस्य लामिछानेलाई गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गरेको थियो भने नेपाललाई बुधबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले भक्तपुरका राजु नेपाललाई पनि सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार उपाध्यक्ष पन्त र सदस्य लामिछाने र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ ग्रहण गराएको छ ।
उपाध्यक्ष नियुक्त भएका पन्तले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट आर्थिक विकेन्द्रीकरण, सार्वजनिक सेवा प्रवाह र गरिबी शीर्षकमा शोध गरी विद्यावारिधी उपाधि हासिल गर्ने भएको छ । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष १ र सदस्य ४ गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । सरकारले उपाध्यक्षसहित दुई सदस्यमात्रै नियुक्त गरेको छ भने समावेशीता क्षेत्रबाट महिला अनिवार्य सदस्य रहने गरी थप दुई सदस्य नियुक्त गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत प्रसाद उपाध्यायले जनाएको छ ।
प्रदेश नीति तथा योजना आयोगमा पदाधिकारी नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८-७९ को योजना तर्जुमा प्रक्रिया अघि बढ्ने बताइएको छ ।











































