पूर्व प्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानविन गर्न उजुरी दर्ता भएको छ ।
स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।
अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च बार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताए । उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताए ।अभियानले पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उनका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।











































