५ महिनामा १ करोड भन्दाबढी राजस्व संकलन
मकवानपुर । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा १ करोडभन्दा बढी राजस्व संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १ करोड ८२ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख रहेको छ ।
ट्राफिक प्रहरीले साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा पनि १७ लाख ५८ हजार रुपैयाँ र असोजमा २४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै कात्तिक महिनामा ३३ लाख ८३ हजार रुयैयाँ र मंसिर महिनामा १४ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंसिर महिनामा ठूला सवारी साधनहरु ट्रक, ट्रिपर र ट्याङ्कर गरि जम्मा २ सय १५ वटालाई कारबाही गरिएको थियो । जसबाट २ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेका थियो । यस्तै २ सय ५६ वटा बसलाई कारबाही गरि २ लाख २ हजार रुपैयाँ राजस्व संंकलन गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जीप–कार २ सय ८५ वटा कारबाही गरि १ लाख ९४ हजार ५ सय, १ सय ३७ वटा मोटरसाइकललाई कारबाही गर्दा १ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यस्तै ६ सय ४० वटा ट्रयाक्टरलाई कारबाही गरि ५२ हजार ४ सय रुपैयाँ, तीन पाङ्ग्रे सवारी साधन ३ सय १७ वटालाई कारबाही गरि २ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेका अनुसार मंसिर महिनामा राजस्व सोचेको भन्दा कम संकलन भएको छ । मंसिरमा एमाले दशौं महाधिवेशनका क्रममा जिल्लाबाट ट्राफिक प्रहरी पठाउनुपरेको र हेटौंडामा भएको नेपाली कांगे्रसको प्रदेश अधिवेशनमा पूर्व–पश्चिम राजमार्गमा बढी खटिनुपर्ने भएकाले राजस्व संकलनमा कमी भएको हो ।











































