हेटौंडा अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामीले सेवा लिँदै

रन्धिर साह
२०७८ पुष २१, बुधबार १५:४९

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा संचालित हेटौंडा अस्पतालमा बिरामी आउनेको संख्यामा वृद्धी भएको छ । अस्पतालमा दैनिक पाँच सय भन्दाबढी बिरामीहरुले सेवा लिदै आएका हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले बताए । उनका अनुसार कुनै दिन त बिरामीको संख्या ७ सय जनासम्म पनि पुग्ने गरेको छ ।

आजभोली हेटौंडा अस्पतालमा सबै भन्दाबढी सेवाग्राही जेनेरेल मेडेसीहरुका लागि मात्र आउने गरेको सूचना अधिकारी झाको भनाई छ । सामान्य स्वास्थ्यमा समस्या देखा परेका बिरामीहरुको संख्या उपचारका लागि अस्पतालमा बढी संख्यामा आउने गरेका छन् । अस्पतालमा दुइ खाले बिरामी आउने गरेको पाइएको छ । सामान्य खालका बिरामी र आपतकालीन सेवा दिनुपर्ने अवस्थाका बिरामी गरी दुई प्रकारका बिरामीले अहिले अस्पतालबाट सेवा लिइरहेका छन् ।

अस्पतालले सुत्केरी महिलालाई मासिक रुपमा दुई हजार दिने गरेको छ । सरकारी अस्पतालमा बच्चा जन्माएमा महिलालाई अस्पतालले दुई हजार नगद, निःशुल्क खाना, चेक जाँच तथा औषधी लगायतको सुविधाहरु अस्पतालले दिने गरेको सूचना अधिकारी झाले बताए ।

अस्पतालको सेवा सुविधाबारे जानकार नभएका महिलालाई अस्पतालका तर्फबाट सुविधा बारे जानकारी गराउँदै सुविधा उपलब्ध गराउने गरिएको जनाइएको छ । आजभोली सुत्केरी महिलाहरु आउनुभन्दा पहिलानै सबै चेक जाँच गराएको तथा आफ्नो स्वास्थ्य अवस्था बारे बुझेको पाइने गरेको छ ।

आर्थिक वर्षको साउन महिनामा सामान्य २ सय ४ जना, कम्प्लीकेटेडमा १० जना र अपरेसन गरेर ७० जना महिला सुत्केरी भएका थिए । यस्तै, भदौ महिनामा २ सय ३४ सामान्य, कम्प्लीकेटेड १९ र अपरेसन गरेर ४७ जना महिला सुत्केरी भएको थियो । यस्तै मंसिरमा २३५, १८ र ५२ जना सुत्केरी भएको थियो । भने कात्तिकमा २९४ जना, ११ जना र ५४ जनाले सेवा लिएको उनले बताए ।
आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म २० वर्ष भन्दा कम उमेर भएका ९१ जना सुत्केरी महिलाले सेवा लिएको पनि सूचना अधिकारीले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको