जलस्रोत तथा सिञ्चाई क्षेत्रमा १३ प्रतिशत मात्रै पुँजीगत खर्च
उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिञ्चाई क्षेत्रमा चालू आर्थिक वर्षको साढे पाँच महिनामा जम्मा १३ प्रतिशत मात्र पुँजीगत खर्च हुन सकेको छ । मन्त्रालयले दिएको तथ्याङ्कअनुसार हालसम्म मन्त्रालयले विभिन्न जलस्रोत तथा सिञ्चाईको क्षेत्रमा कुल ३ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गर्न सकेको हो ।
जबकि मन्त्रालयले चालू आर्थिक वर्षका लागि सो क्षेत्रमा कुल २७ अर्ब १९ करोड २ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । यता चालुतर्फ भने मन्त्रालयले आर्थिक वर्षका लागि एक अर्ब २४ करोड २६ लाख रुपैयाँ छुट्याएको छ । यी दुबै शीर्षकबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासका लागि मन्त्रालयले २ अर्ब ६० करोड ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, आर्थिक वर्षको करिब मध्य मध्यतिर आइसक्दा पनि मन्त्रालयले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न नसकेको हो ।
मन्त्रालयका अनुसार समयमै बजेट खर्च हुन नसक्नुमा विविध कारण आयोजना परियोजनाको क्षेत्रमा कतै जग्गा मुआब्जाको विवाद त कतै वन क्षेत्रको अवरोधका कारण समस्यामा परेको बताएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाले मूल्याङ्कन भन्दा मुआब्जा माग्ने त कतै मुआब्जाभन्दा पनि सोही जग्गा बराबरको जग्गा अर्को ठाउँमा माग्ने गरेकाले समेत समस्या आएको मन्त्रालयको भनाई छ ।
अर्कोतर्फ आयोजना सञ्चालित क्षेत्रमा पर्ने वन क्षेत्रमा रुख कटानका लागि वन मन्त्रालयले आवश्यक समन्वय नगरिदिँदा समेत समस्या परिरहेको मन्त्रालयको भनाई छ । चालु आर्थिक वर्षका लागि जलस्रोत तथा सिञ्चाई क्षेत्रमा कुल ३३ वटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ‘पी’ १ अन्तर्गत २८ वटा, ‘पी’ २ अन्तर्गत ५ वटा र राष्ट्रिय गौरवका ६ वटा आयोजनाहरु सञ्चालित छन् ।











































