युनिलिभर हेटौँडाको ज्यादती,‘ तौलपुल उखेल्न प्रयोग गरिएको मेसिनले भत्कीयो घर र पार्टी प्यालेस’ (भिडियोसहित)

लोकखबर
२०७८ पुष २३, शुक्रबार १२:५०

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ स्थितमा रहेको युनिलिभरले स्थानीयमाथी ज्यादती गरेको गुनासो छ । उद्योग सञ्चालनको नाममा कम्पनीले स्थानीय बासिन्दाहरुलाई असर गर्ने खालको क्रियाकलाप जारी राखेपछि स्थानीयवासी पीडित बनेका छन् ।

युनिलिभरले आफ्नो कम्पाउण्ड भित्र रहेको तौल पुल भत्काउन प्रयोग गरिएको मेसिनको कारण उद्योगसंगै केहि दिन अघि मात्र निर्माण भएको स्थानीय नरहरी नन्दन बर्तौलाको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको हो। शुक्रबार (आज) पत्रकार सम्मेलन गरि बर्तौलाले आफुले मेसिन लगाएर तौल पुल भत्काउँदा आफुहरुको संरचनामा खतरा आउने पटक–पटक जानकारी दिँदा समेत उद्योगले जवरजस्ती मेसिन प्रयोग गर्दा गत पुस १७ गते मात्र उद्घाटन गरिएको पार्टी प्यालेस पूर्ण रुपमा क्षति भएको बताए ।

५० लाख रुपैँयाको लागतमा निर्माण गरिएको पार्टी प्यालेस पूर्ण, रुपमा क्षति भएको भन्दै बर्तौलाले उद्योगसँग पूर्ण क्षतिपूर्तिको माग गरेका छन् । एक्कासी विना जानकारी ‘भ्राईबेट मेसिन’ प्रयोग गरिदाँ आफुले दुई वर्ष लगाएर ऋण गरेर निर्माण गरेको पार्टी प्यालेस उद्घाटन भएको (१९ गते) दोस्रो दिनमानै पूर्ण क्षति भएको भन्दै उनले यसबारे उद्योग प्रमुखलाई जानकारी गराउँदा आफुलाई हातपात पनि भएको बताए ।

यसबारे आफुहरुले सम्वन्धित वडामा जानकारी पनि दिइसकेको भन्दै उनले युनिलिभरले स्थानीयलाई पटक–पटक ज्यादती गर्दै आएको बताए ।
युनिलिभर स्थापना हुँदा २६ वर्ष पहिले आफुहरुको चार धुर जग्गा कम्पनीको कम्पाउण्ड वाल भित्र परेको जानकारी गराउँदा समेत कम्पनीले उक्त जग्गा हालसम्म खाली नगरेको बर्तौलाको भनाई छ ।

युनिलिभरले मापदण्ड विपरित आम स्थानीयको घर नजिकै यस अघि ३० टनसम्मको तौल पुल निर्माण गरेर आम स्थानीयलाई समस्यामा पार्दै आएकोमा अहिले उक्त तौल पुल ८० टन क्षमतामा विस्तार गरिदाँ त्यहा रहेका स्थानीयको घरमा दुर्घटना हुने खतरा बढेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अर्का स्थानीय निरध्वज खड्काले युनिलिभरले मापदण्ड विपरित काम गर्दै आएको बताए । स्थानीयहरुको जग्गाको सिमानामा १४–१५ फिटसम्मका अग्ला वालहरु लगाएर दुर्घटनाको जोखिम बढाएको भन्दै खड्काले आफुहरुले यसबारे पटक–पटक पहल गर्दा समेत लिभरले वास्ता नगरेको बताए ।

युनिलिभरले अहिलेसम्म पार्कीङको समेत ब्यवस्थापन नगर्दा सबारीहरुको यत्रतत्र भिडले साना विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भएको भन्दै उनले बहुराष्ट्रिय कम्पनीको नाउँमा युनिलिभरले निकै ज्यादती गरेको उल्लेख गरे । युनिलिभरले ज्यादती नरोक्ने र क्षति भएका संरचनाको क्षतिपूर्ति नदिने हो भने आफुहरुरुले कडा अन्दोलन गर्ने तयारी गरेको स्थानीयहरुको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको