बकैयामा विद्यार्थीमाथि कुटपिट, अनेरास्ववियु मकवानपुरको ध्यानाकर्षण
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति एमाले निकट विद्यार्थी अनेरास्ववियु मकवानपुरले विरोध जनाएको छ ।
आईतबार अनेरास्ववियु मकवानपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै कुटपिट गर्ने शिक्षकलाई तत्काल बर्खास्त गरि कानुन बमोजिम कार्बाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो ।
मककावनपुरको बकैंया गाउँपालिका-३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सागर थिङ माथि सोही विद्यालयमा अध्यापन गराउने शिक्षक योगबहादुर राईले निर्घात कुटपिट गरी घाईते बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“यस निन्दनिय कार्यको अनेरास्ववियू जिल्ला कमिटी मकवानपुर घोर भर्त्सना गर्दछ। २१ औ शताब्दीको अत्याधुनिक युगमा पनि पाश्विकयुगको जस्तो बर्बर दमन गर्ने कार्यको जति निन्दा गरेपनि क्षम हुदैन। उक्त घटना घटाउन जिम्मेवार शिक्षक राईलाई तत्काल बर्खास्त गरि कानुन बमोजिम कार्बाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चहान्छौ।” विज्ञप्तीमा भनिएको छ ।
अनेरास्ववियु मकवानपुरले विज्ञप्तीमार्फत शिक्षकलाई कानुन बमोजिम कारवाही नभए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।











































