खैराङका गायक हिमाल घिमिरेको १५ औँ गीत तयार
मकवानपुर । पश्चिम मकवानपुरको साविकको खैराङका हुन् हिमाल घिमिरे, जसले आफ्नो गायन यात्रामा १५ औँ गीत रेकर्ड गरेका छन् । ‘बगिजाने खोला’ बोलको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको छ । हिमाल घिमिरेकै शब्द र संगीत रहेको गीतमा शान्तिश्री परियार, मनमाया वाइबा र हिमाल घिमिरेको स्वर रहेको छ ।
‘साउनको दोस्रो साताभित्र म्युजिक भिडियोसहित गीत सार्वजनिक गर्ने तयारीमा छौँ,’ घिमिरेले भने, ‘गीत रेकर्ड सकेर म्युजिक भिडियो निर्माणमा जुटेका छौँ ।’ २०६० सालदेखि गीत लेखन र गायनमा सक्रिय घिमिरे संघीय राजधानी काठमाडौँमा संघर्षरत कलाकार हुन् । त्यसैले मकवानपुरमा उनको चर्चा कम हुन्छ । उनले पहिलो गीत ‘बनायौ जिउँदो लाश’ २०६६ सालमा रेकर्ड गराएका थिए ।
उनी राम्रो गीत मात्र लेख्दैनन्, आफैँ गाउँछन् पनि । घिमिरे गीतसंगीत उद्योगमै कर्मशील भएर क्रियाशील छन् । उनको आफ्न युट्युब च्यानल पनि छ । उनले गाउँघरमा हुने कार्यक्रममा पनि आफ्ना गीत गाउने गरेका छन् ।