गाउंमा स्वास्थ्य तथा परिवार नियोजन कार्यक्रम

महिला तथा सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८२ बैशाख २९, सोमबार १६:५७

विदुर–महिला तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकाले गाउंमै पुगेर स्वास्थ्य तथा परिवार नियोजन शिविर गरेको छ । यसवाट महिला तथा सर्वसाधारण गाउमै उपचार सेवा पाउंदा समय र पैसाको वचत भएकोमा खुसी भएका छन् ।
तारकेश्वर गापाले वडाहरुमा पुगेर महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरेको हो । गापाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा विभिन्न वडामा सो सेवा प्रदान गरिएको हो ।
तारकेश्वर १ दाङसिङ स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण र परिवार नियोजन शिविर, तारकेश्वर ४ स्थित बुधसिंह स्वास्थ्य चौकीमा परिवार नियोजन शिविर, तारकेश्वर ३ जोरचौतारास्थित तारुका स्वास्थ्य चौकीमा परिवार नियोजन शिविर, तारकेश्वर ६ को आधारभूत स्वास्थ्य सेवा केन्द्र, मजुवा र तारकेश्वर ५ को गोस्र्याङ स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको हो । यसवाट गाउंका सयौं सेवाग्राहीले लाभ लिएको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले वताए ।
उनका अनुसार स्वास्थ्य परीक्षण शिविरमा ३० वर्ष भन्दा माथिका महिलाहरूको पाठेघरको क्यान्सर पत्ता लगाउन भिआइए जाँचसँगै प्रजनन स्वास्थ्य परिक्षण र आवस्यक औषधि वितरण, आङ खस्ने ससस्या भएका महिलाको रिङ प्रेसरी राख्ने उपचार र मेडिकल सेवा प्रदान गरिएको छ । परिवार नियोजन शिविरमा लामो समयसम्म गर्भधारण गर्न नचाहने महिलाहरुले लामो अवधिको अस्थायी गर्भनिरोधक साधन (आइयुसिडी÷इम्प्लान्ट) राख्ने सेवा र सो सम्बन्धी परामर्श सेवा प्रदान गरिएको तारकेश्वर स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थय परिक्षण तथा परिवार नियोजन शिविरमा तारकेश्वरका महिलाले शिविरमा सहभागी भई लाभ लिएका छन् । प्रजनन स्वास्थ्यबारे सदैव सचेत रहन आग्रह गरिएको छ ।


सर्वाधिक रुचाइएको