शुक्रपथ सहकारीका अध्यक्षसहित ६ जना पक्राउ
विदुर–नुवाकोटको बट्टारमा शाखा कार्यालय रहेको शुक्रपथ सहकारीका अध्यक्षसहित ६ जना पक्राउ परेका छन् । सहकारीको वट्टार शाखामा सिल लगाइएको छ ।
वचतकर्ताहरुको उजुरीपछि अध्यक्ष, संचालक, कर्मचारीसहित ६ जनालाई पक्राउ गरेर छलफल सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले विदुर नगरपालिका २ मा शाखा कार्यालय रहेको सो सहकारीको कार्यालयमा सिल गरेको छ ।

दुई दिनदेखि लगातार छलफल जारी रहेको छ । सुरक्षाका लागि सहकारकिो वट्टार शाखामा ताला लगाइएको प्रहरी निरीक्षक हरिवोल केसीले वताए ।
उनका अनुसार बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा छलफलका लागि बट्टार वजारमा शाखा रहेको शुक्रपथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र संचालक सदस्य, कर्मचारीसहित ६ जनालाई पक्राउ गरि अनुसनधान भइरहेको छ । प्रहरीले पक्राउ गरेकाहरुमा संचालक समितिका अध्यक्ष निरहरि उपाध्याय, सदस्य जीवनराज ओझा र शाखा प्रमुख जयवहादुर थापा, कर्मचारीसहित ६ जना रहेका छन् ।
बचतकर्ताहरुले जम्मा गरेको लाखौं रुपैया तत्काल आफुहरुको बचत रकम फिर्ता गर्नुपर्ने माग राखेपछि संचालक समितिका अध्यक्ष, सदस्य तथा शाखा प्रमुखले उचित जवाफ दिन सकेका छैनन् । उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न केही समय लाग्ने र त्यसको लागि केही समय दिन माग गरेपछि बचतकर्ताहरु आक्रोशित भएका छन् ।

उक्त सहकारीले हालसम्म नुवाकोटमा मात्रै झण्डै ४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरिसकेको छ । २ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।
सन्चालकहरुले बचतकर्ताहरुको रकम जसरी पनि फिर्ता गर्ने भन्दै आफुहरुलाई केही समय दिन माग गरेका छन् । काठमाडौका केही शाखामा समेत समस्या देखिएकोले निक्षेप फिर्ता गर्न समस्या भएको वताउंदै सहकारी पन्छिन खोजेको वचतकर्ताहरुले वताए ।
उक्त सहकारीले जग्गामा लगानी गरेको र निक्षेपकर्तालाई त्यही जग्गा दिने वा बेचेर रकम फिर्ता गर्न आफुहरु तयार रहेको सन्चालकहरुले वयान दिएका छन् । सहकारीमा लामो समयदेखि समस्या देखिए पनि समस्याको समाधान नगरि संचालक समितिले दवावमा कर्मचारीहरुलाई काम गराइरहेको गुनासो गरेका छन् ।
कार्यरत कर्मचारीले पछिल्लो समय सहकारीमा समस्या देखिएपछि कर्मचारी १५ जनाबाट ५ जनामा कायम गरेको जनाएको छ । वचतकर्ताहरु भने रकम फिर्ता नलिई आफुहरु पछाडि नहट्ने जनाएका छन् ।

उक्त सहकारीमा करिव एक हजार जना सदस्यहरुले न्युनतम दैनिक एकसयदेखि ५० हजार रुपैयासम्म वचत गर्दै आएका छन् । कपितपयले सुनिश्चित (फिक्स) वचततर्फ दुई लाख देखि ४५ लाख रुपैयाँसम्मको रकम बचत गरेका छन् ।
वचतकर्ताहरुले आफ्नो बचत रकम तत्काल फिर्ता गर्ने वातावरण बनाइदिन सरोकारवालाहरुसँग माग गरिरहेका वचतकर्ता मुरारी नेपालले वताए । उनका अनुसार २०६९ साल जेठ २७ गते वट्टारमा शाखा सन्चालन गरेसंगै उक्त सहकारी विवादमा रहदै आएको थियो ।
वट्टारवजारमा रहेको उक्त सहकारीको शाखामा आइतवारैदेखि वचतकर्ता, सर्वसाधारण तथा प्रहरीको भिड लागेको थियो । उक्त सहकारी वचत फिर्ता नगरि भाग्न खोजेको वजार हल्ला फैलिएपछि बचतकर्ताहरुले सहकारीको भवनमा पुगेर कर्मचारीसंग सोधपुछ गरेका थिए ।

वचतकर्ताहरुले आफुहरुको रकम फिर्ता गर्न नसकेर कर्मचारीहरु भाग्न खोजेपछि घेराउ गरेर प्रहरीलाई जिम्मा लगाएका हुन् । सहकारीका कर्मचारीहरुलाई विहानैदेखि बचतकर्ताले केरकार शुरु गरेपछि संचालक समितिका अध्यक्ष निरहरि उपाध्याय र सदस्य जीवनराज ओझालाई फोन गरेर नुवाकोट बोलाइएको थियो ।
विदुर आएका उक्त सहकारीका अध्यक्ष र सदस्य, कर्मचारीहरुलाई रकम फिताृ नगरि छाड्न नहुने दवाव दिदै वचतकर्ताहरु सोमवार दिनैभर प्रहरी कार्यालयसमेत पुगेका थिए । बचतकर्ताहरुले अन्य संचालन समितिका सदस्यसहित प्रमुख कार्यकारी अधिकृतलाई नुवाकोटमै झिकाउन माग गरेका छन् ।
जनप्रतिनिधिको रोहवरमा सन्चालक तथा कर्मचारीहरुलाई पक्राउ गरि प्हरी हिरासतमा लिइएको छ । प्रहरीले सुरक्षाका लागि भन्दै सहकारीको कार्यालयमा शिल गरेको छ ।











































