ज्येष्ठ नागरिक आश्रममा सहयोग
विदुर–नुवाकोटको देवीघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध भएको छ । यसका साथै सो स्थानमा वसोवास गर्दै आइरहेका वृद्धवृद्धाहरुलाई भोजनसमेत गराइएको छ ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरुको नुवाकोट सेवा समाज दोहा कतारले विदुर नगरपालिका ५ देबीघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । प्रतिष्ठानमा आयोजित कार्यक्रममा नुवाकोट सेवा समाज दोहा कतारका प्रतिनिधिहरुले प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

नुवाकोट सेवा समाज दोहा कतारका सल्लाहकार प्रकाश तामाङ र सदस्य रामप्रसाद वाग्लेको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा नगद ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका हुन् । कार्यक्रममा नुवाकोट सेवा समाज दोहा कतारका प्रतिनिधिहरुले कतारमा विभिन्न सांस्कृति कार्यक्रम गरि बचाएको रकमले प्रतिष्ठानलाई सहयोग उपलब्ध गराएको बताए ।
उनीहरुले आगामी दिनमा पनि संस्थाको आवश्यकताको पहिचान गरेर सहयोग उपलब्ध गराउने प्रतिवद्धा व्यक्त गरे । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष नेपालले प्रतिष्ठान अन्तर्गतको ज्येष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन यस्ता सहयोगले धेरै सहयोग पुग्ने बताए ।

उनले समाजको सामाजिक कार्य प्रतिष्ठानलाई सधैँ प्राप्त हुने विश्वास व्यक्त गरे । १९ वर्ष अगाडि स्थापना भएको नुवाकोट सेवा समाज दोहा कतारले स्थापनादेखिनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको नुवाकोट सेवा समाज दोहा कतारका अध्यक्ष दीपेन्द्र लोघलेले जानकारी दिए ।
समाजले कोभिड १९ महामारीको समयमा विभिन्न किसिमको सहयोग गरेको थियो । यसका साथै शिक्षा, स्वास्थ्य र सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।











































