कृषक अगस्तीसहित ५० जनालाई कोरियन सम्मान

–सम्मानसहित प्रशंसापत्र प्रदान
देवचन्द्र भट्ट
२०८२ असार १३, शुक्रबार २०:५६

विदुर–कोरियावाट नुवाकोट फर्किएर कृषि पेशामा लागेका चौघडाका युवा कृषकलाई कोरियन सरकारले सम्मान गरेको छ । कोरियामा रोजगारी गरेर फर्किएका लिखु गाउंपालिका ४ चौघडाका ४० वर्षिय रामचन्द्र अगस्तीसहित ५० जनालाई कोरियन सरकारले सम्मान गरेको हो ।
नेपालका लागि कोरियन दुतावासले कोरियामा रोजगारी गरेर नेपाल फर्किएर कृषि, उत्पादन, शिक्षण तथा सेवा क्षेत्रमा क्रियाशील ५० जनालाई दक्षिण कोरियाका राजदूत पार्क थेयङ, कोइका नेपालका प्रमुख खोङ मुहन र अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन् । अगस्तीलाई कृषि पेशामा योगदान पु¥याएको कदरस्वरुप कोरियाले सम्मान पत्र प्रदान गरेको हो ।

अगस्तीसहित कृषितर्फ १६ जना, उत्पादनमूलक क्षेत्रमा २० जना,सेवा क्षेत्रमा ९ जना र शिक्षण पेशामा रहेका ५ जनासमेत गरि ५० जना एकै पटक सम्मानित भएका हुन् । सन् २०११ म कोरिया पुगेका अगस्ती तीन वर्ष १० महिना त्यहां रोजगारी गरेर फर्किएर हाल कृषि पेशामा तल्लीन रहेका छन् ।
दक्षिण कोरियावाट फर्किएर नेपालमै स्वरोजगारमुलक विभिन्न पेशा गरिरहेकाहरुलाई कोरियाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो । यसका साथै वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय गरेर सफल भएका ति ५० जना नेपाली युवाहरूको प्रेरणादायी अनुभव समेटिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ प्रकाशित भएको छ ।
दक्षिण कोरियाको काठमाडौँस्थित दूतावासले प्रकाशनमा ल्याएको उक्त पुस्तकको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, दक्षिण कोरियाका राजदूत पार्क थेयङ र कोइका नेपालका प्रमुख खोङ मुहनले संयुक्त रूपमा विमोचन गरे । उक्त पुस्तकमा कृषक अगस्तीसहित ५० जनाको सघर्ष, सफलता र अनुभव प्रस्तुत गरिएको छ ।

कृषक अगस्तीले आफ्नो गृहजिल्ला नुवाकोटमै कुभिण्डो, अमारो, केराको वुंगो, तरकारीलगायतका अर्गानिक कृषि उपजहरुको उत्पादन गर्दै आइरहेका छन् । कृषक अगस्ती आफुले उत्पादन गरेका कृषि उपजहरु काठमाडौ तथा नुवाकोटसहित अन्य स्थानहरुमासमेत पु¥याउंदै आएका छन् ।
अगस्तीलगायतले दक्षिण कोरियामा आर्जन गरेको सीप, पुँजी र क्षमतालाई नेपालमै प्रयोग गरी व्यवसाय सुरु गरेका हुन् । कोरियाले यसलाई उच्च मुल्यांकन गरेको छ । कोरियाली राजदूत पार्क थेयङ र कोइका प्रमुख खोङ मुहनले कोरिया र नेपालको सम्बन्ध जनस्तरसम्म फैलिएको र यस्ता साझा प्रयासहरूले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाउने बताएका छन् ।

प्रकाशित पुस्तकमा समावेश सफल कृषक रामचन्द्र अगस्ती, व्यवसायीहरु सुरेशबहादुर क्षेत्री र धर्मराज जोशीले आआफ्ना अनुभव सुनाउंदै सफलताको लागि समय सापेक्ष तीनै तहको सरकारको साथ र सहयोग, लगानी, धैर्यता र निरन्तर मेहनत जरुरी हुने वताए । कोरियन दूतावासले प्रकाशनमा ल्याएको उक्त पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ ले विदेशबाट फर्किएकाहरूका लागि मार्गदर्शकको काम गर्ने विश्वास गरिएको छ ।


कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय सुरु गर्नेको अनुभव सबैका लागि प्रेरणादायी र उदाहरणीय रहेको बताए । उनले अगाडि भने “दक्षिण कोरियामा श्रमिकका रूपमा गएका ५० जना नेपालीले नेपालमै विभिन्न क्षेत्रमा व्यवसाय सुरु गरेर राम्रो सफलता पाएका छन् ।”
मन्त्री थपे, “अब विदेश फर्किने नेपालीहरूले पनि यस्ता अनुभवलाई अनुकरण गरेर देशमै केही गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ । पुस्तकमा समेटिएका कथाहरूमा वैदेशिक रोजगारीबाट फर्किएर उत्पादन, कृषि, सेवा र शिक्षण जस्ता क्षेत्रमा व्यवसाय सुरु गरेका ५० जनाको अनुभव समेटिएको छन् ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको