धान दिवसमा किसानले नेतासंग मागे मल

विदुर–असारको १५ अर्थात् रोपाइको चटारोले व्यस्त दिनमा आइतवार नुवाकोटको लिखुवेशीलगायत विभिन्न स्थानमा धान दिवस मनाइएको छ । धान दिवसमा सहभागी किसानहरुले अतिथीसंग रासायनिक मल उपलव्ध गराइदिन माग गरेका छन् ।
२२ औं राष्ट्रिय धान दिवसका अवसरमा आइतवार महोत्सवकै आयोजना गरि किसानहरुले असारे भाका मिश्रित गीत गाउँदै र रमाइलो गर्दै रोपाइँको मेलो सक्ने काम गरेका छन् । नुवाकोटको लिखु, ढिकुरे, तुप्चे, थानसिङ, गेर्खुटार, वेलकोटगढी, मदानपुर, तादी, पन्चकन्या, ककनीलगायतका स्थानमा धान रोप्दै महोत्सव गरिएका छन् ।
“धान बालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता“ भन्ने नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी किसानहरुले प्रमुख अतिथी, अतिथीहरुलाई रासायनिक मल उपलव्ध गराउन माग गरेका छन् । किसानहरुले खाद्यान्न तथा तरकारी वालीमा राख्नका लागि रासायनिक मल पाउन नसकेको कार्यक्रममै गुनासो गरेका छन् ।
विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी अतिथीहरुले रासायनिक मलका लागि पहल गर्ने आस्वासन दिएका छन् । पुर्वी भेगमा रहेको लिखु गापा ६ को थानसिङफांटमा किसान महासंंघ नुवाकोटले गरेको रोपाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्रिअर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।
केसीले किसानहरुको मलको समस्या समाधान गर्न सरकार क्रियाशील हुनु पर्ने वताए । उनले किसानहरुले धान, अन्न तथा तरकारी वालीमा राख्न आवस्यक मल नपाउंदा कृषि प्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सवै पक्षको सहकार्यवाट गरिनुपर्ने वताए ।
कृषिमा आधुनिक यन्त्रउपकरणको प्रयोग गरेर उत्पादन वढाई युवा पलायन हुने कार्य रोक्नु पर्ने केसीको भनाई छ । कार्यक्रममा सहभागीहरुले किसानका माग समस्या समाधानका लागि सरकारले विशेष कार्य गर्नु पर्ने माग गरे ।
यता, राष्ट्रिय धान दिवस २०८२ कै अवसरमा लिखु गापाको थानसिङमै अखिल नेपाल किसान महासंघले रोपाई महोत्सव गरेको छ । एमाले केन्द्रीय सदस्य तथा वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेले किसानहरुलाई माग र आवस्यकताका आधारमा रासायनिक मलका साथै कृषि उपकरणहरु दिइनु पर्ने वताए ।
तीनै तहको सरकारले समस्या समाधानका लागि सक्रियता देखाउनु पर्ने समय आएको उनको भनाई छ । एमालेका अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाले किसानहरुको समस्या समाधान गरेर कृषिमा उत्पादन र सक्रियता वढाउनु पर्ने वताइन् ।
किसानहरुसंग अन्र्तक्रियासमेत गरिएको थियो । कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले किसान संरक्षण, उत्पादनमा वढोत्तरी र विउविजनमा गुणस्तरियतामा ध्यान दिनु पर्ने वताए ।
अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संगठन र युवा संघको संयुक्त आयोजनमा वृहत धान रोपाई महोत्सव गरिएको हो । थानसिङ धान उतपादनको भण्डारको रुपमा रहेको छ ।
यता, लिखु गापा २ को चारसयगैरी फांटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नुवाकोटको आयोजनामा सन्चालित रोपाई महोत्सवको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उद्घाटन गरे ।
ठकुरीले देशमा तीन तहको सरकार भए पनि किसानहरुले कहिले पनि मल पाउन नसकेको वताए । तीनै तहको सरकारले समन्वय गरेर किसानहरुलाई खेतिपातीमा पर्याप्त रासायनिक मल उपलव्ध गराउनु पर्ने वताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रविन्द्र पौडेललगायत स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषकतथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा रासायनिक मलको अभावबारे स्थानीय कृषकहरुले मल समयमै र पर्याप्त उपलव्ध गराउनु पर्ने माग राख्दै सम्बन्धित निकायलाइ ध्यानाकर्षणको लागि आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले किसानलाई रासायनिक मल उपलव्ध गराउन नसकेर लाचारी भएको आरोप लगाए । अहिले किसानको प्राथमिकता मल रहेको वताउंदै तत्काल समस्या समाधानका लागि उनीहरुले माग गरे ।
किसानहरुले खेतवारीमा रासायनिक मल राख्न नपाएर समस्या परिरहेको र सम्वन्धित पक्ष मुकदर्शक वनिरहेको गुनासो गरे । किसान महासघका अध्यक्ष रामहरि पाण्डे, युवा संघका अध्यक्ष प्रज्वल सापकोटा, अनेमसंघकी अध्यक्ष कल्पना न्यौपानेपाण्डेलगायतले किसान जहिले पनि अभाव र पीडामा रहनु परेका कारण सम्वन्धित पक्षले मलको समस्या समाधानका लागि क्रियाशीलता अपनाउनु पर्ने वताए ।
विभिन्न स्थानमा आयोजित रोपाइँ महोत्सवमा पन्चेवाजासहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । एकआपसमा हिलो खेल्दै अतिथी तथा किसानहरुले धान रोप्दै रमाइलो गरेका हुन् ।
यस्तै, नुवाकोटको विदुर नपा ७ तुप्चेमासमेत धान महोत्सव गरिएको छ । विविध मनोरन्जनात्मक कार्यक्रम गर्दै धान रोपिएको हो ।
रोपाइको दिनलाई मानो रोपेर मुरी उव्जाउने पर्वका रुपमा लिइदै आएको छ । सहभागी महिला समूहहरुले गीतमार्फत किसानलाई मल उपल्व्ध गराइदिन माग गरे ।
मल नहुंदा उत्पादनमा ह्रास आइरहेको उनीहरुले वताए । सरकारले खेतिमा आत्मनिर्भर हुने योजनाहरु ल्याउनु पर्ने किसानहरुको भनाई छ ।
असार १५ को सन्दर्भ र धान रोपाइँमा अपरिहार्य दहीच्यूराः
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् ।
असार १५ का दिन नुवाकोटका विभिनन स्थानमा आइतवार असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिएको छ । सामूहिक रुपमा दहिच्युरा खांदै रोपाई गरिएको हो ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ । मध्य गर्मीको यस समयमा नुवाकोटका विभिन्न स्थानमा युवा लाठे र युवती रोपाहारले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गते नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्यूरा खाई असार १५ मनाउने गरेको पिपलटारका वृद्ध कृष्णप्रसाद गजुरेलको भनाई छ । २२ औँ राष्ट्रिय धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशातर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको थानसिङ, ढिकुरे, लिखु, तुप्चेफांटलगायत विभिन्न स्थानमा २२ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवको आयोजना गरिएको हो ।