वगेका युवकको शव तीन सातापछि फेला

विदुर–नुवाकोटको दुप्चेश्वरका एक युवक खोलामा वगेको तीन सातापछि शव फेला परेको छ । यहि असार ३ गते मंगलवारदेखि तादी खोलाले बगाएका दुप्चेश्वर गापाको कुटुङखोलाका नोनो शेर्पाको शव तीन सातापछि भेटिएको हो ।
दुप्चेश्वर गापा ७ स्थित कुटुङखोलाका २६ वर्षीय नोनो शेर्पा घर भन्दा २ सय मिटर तल रहेको तादी खोलामा पौडी खेल्न जाने क्रममा खोलाले बगाई बेपत्ता भएकोमा खोजतसालका क्रममा शुक्रवार दुप्चेश्वर गापा ६ टटलेस्थित तादी खोलाको बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।
नोनोको शव सडेर गलेको अवस्थामा भेटिएको र घटनाका सम्वन्धमा घटनास्थलमा शवजाँच प्रकृती मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानको कार्य गरी शव पोष्टमार्टमको लागि त्रिशूली अस्पालमा लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।
यसैवीच, नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय माइक्रोवस र नुवाकोटको विदुरतर्फ आइरहेको मोटरसाइकल दुर्घटनामा परेको छ । ठोक्किएर भएको दुर्घटनामा बागमती प्रदेश ०२–००१ज५२० नम्बरको विद्युतीय माइक्रोवस र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।