७७ औं जिल्ला हुम्ला जोडियो सडक सन्जालमा
विदुर–‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा,
ए हजुर वस्याको छु हेर्ने रहरैमा
सिटामोलको अभावमा मर्नु पर्ने कोही,
चोट लागे भोक लागे पनि वस्नु पर्ने रोई हजुर
तुइन चढी स्कुल जान्छन् नानी वावु गाउंमा,
कालो वाटो चिल्ला गाडी होलान तिम्रा ठाउंंमा हजुर… …’

गायक सुरज पण्डितले संगीत भर्दै पांच वर्ष अगाडि आफैंले स्वर दिएको यस गीतमा लेखराज गिरीले कर्णाली प्रदेशको दुर्गम हुम्लाको कथालाई उतारेका थिए । अहिले यस कथा अव कथामै सिमित हुन पुगेको छ, अर्थात् कर्णालीलाई सरकारले टेकेको छ, कर्णालीलाई सरकारले चिहाएको छ, कर्णालीले सरकारको मन छोएको छ ।

चीन र भारतसँग नेपालको व्यापारलाई प्रबद्र्र्धन गर्ने पनि बलियो आधारसहित कर्णालीको हुम्ला जिल्लाको खार्पुमा आइतवार सरकार पुगेर पुलको उद्घाटन भएको छ । अर्थात् अव हुम्लाको सिमकोट जान जहाज कुदै होइन, मोटर नै काफी रहेको सावित भएको छ ।

गीतले कल्पना गरेको सपनाले अव सार्थकता पाएको छ । अव हुम्लामा सिटामोल होइन, प्रभावकारी उपचार सेवाले जनतालाई अंगाल्ने सरकारको योजना छ ।

खार्पुमा वेलिव्रिज निर्माणसंगै सन्चालनले हुम्लामात्रै नभई देशकै परिवर्तन हुने सरकारको लक्ष्य रहेको छ । माथिको उक्त मर्मस्पर्शी गीतका स्रष्टा र गायकको पीडामा पनि यस कदमले अवश्य पनि अलिकति मल्हम लगाएको छ ।

वर्षौंदेखि सडक सन्जाल पुग्न नसकेको कर्णाली प्रदेशको हुम्लामा सडक जोडिएको छ । यससंगै सडक सन्जाल पुग्न वांकी अर्थात् अन्तिम ७७ औं जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएको छ ।

सिमकोट जाने सडकमा नवनिर्मित वेलिव्रिजको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्माओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताए । उनले कर्णाली करिडोर कर्णाली र हुम्लाबासीको मात्र नभई चीन र भारत दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताए ।

प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा कार्यक्रमकाबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गतको चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने बताए । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा अव नेपालको सवै जिल्लाको सदरमुकाम सडकसंग जोडिएको वताए ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हुम्लामा निर्माणाधीन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डो¥याउने प्रतिबद्धता व्यक्त गरे । अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दै लैजाने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिनेसमेत प्रतिबद्धता जनाए । उनले हुम्लामा व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताए ।

हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो । उक्त बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘नेपालका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्र जिल्ला हुम्ला थियो । ४ सय १० किलोमिटर लामो सो सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्दै वैदेशिक व्यापारमा सहयोग पु¥याउनेछ ।

कर्णाली करिडोरअन्तर्गतको उक्त वेलिव्रिज निर्माण भएसँगै हुम्लाका नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन आउने र जिल्लाको आर्थिक तथा सामाजिक विकासले गति लिने अपेक्षा गरिएको छ । यो पुल नेपाली सेनाले कुल ४ करोड लागतमा बनाएको हो ।

प्रधानमन्त्री ओलीले हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताए । ’रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ’यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’ प्रधानमन्त्रि ओलीले हुम्लाको सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमालेका उपमहासचिव तथा पुर्वमन्त्रि प्रदीप ज्ञवाली, हुम्लाका राजनीतिक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञवाली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पु¥याएपछि यो कामले औपचारिकता पाएको वताए ।

प्रधानमन्त्रि ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताउदैं अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिए । ’अवदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटोसमेत औपचारिक रुपमा खुलेको छ ।’

पुल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।’ आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर राष्ट्रिय सडकसँग जोडिएको वेलिव्रिज उद्घाटन गर्न पाउनु महत्वपुर्ण विषय रहेको वताए।

४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेर गाडी पास गराएपछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिएसँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आइतवारदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । गत कार्तिक २० गतेको मन्त्रिपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालीन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलिव्रिजको विकल्प अघि सारेको थियो ।

खार्पु नदीमा निर्माण भएको वेलिव्रिज उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताए । उनले यसले नेपालको विकासमा महत्वपुर्ण भुमिका खेलेकोसमेत वताए ।

हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गरिने प्रधानमन्त्रिले वताए । कार्यक्रममा छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाए ।

प्रधानमन्त्री ओलीले हुम्लामा व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताए । हुम्लाको अर्थतन्त्र उकास्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने बताए ।

पुल उद्घाटनपछि क्वारेन्टाइन स्थापना हुने उनको भनाइ छ । वेलिव्रिज उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानविर राई, भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र पौडेल, पुर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली इन्चार्ज गोरखबहादुर बोगटी, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, हुम्लाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, क्रियाशिल दलका नेता, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलगायत सरकारी कर्मचारीको सहभागिता रहेको थियो ।

यससंगै राष्ट्रिय सडक सञ्जालसँग जोडिन नपाएको हुम्ला सदरमुकाम सिमकोटको अवस्था बदलिएको छ । प्रधानमन्त्रीले खार्पुनाथ स्थित चुवा खोलामा निर्मित बेलीब्रिजको उद्घाटन गरेसँगै सिमकोट मात्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन, यसले हिल्सा र जमुनाहा नाकालाई पनि जोडेको कर्णाली प्रदेशका मुख्यमन्त्रि यामलाल कणेलको भनाई छ ।












































