त्रिशूलीका चिकित्सकहरु आन्दोलित
विदुर–त्रिशूली अस्पताल नुवाकोटका चिकित्सकहरूले विभिन्न माग राखी आन्दोलन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरुले सोमवारदेखि नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।
नेपाल चिकित्सक संघको आन्दोलनको अगुवाईमा उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै त्रिशूली अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्लो मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको र यसले अन्यायमा पारेको भन्दै नेपाल चिकित्सक संघले नुवाकोटसहित देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
सेवा ठप्प पर्दा धेरै विरामीहरु अत्यावश्यक स्वास्थ्य सुविधाबाट बन्चित भएका छन् । त्रिशूली अस्पतालमा वहिरंगतर्फ दैनिक चारसय जना विरामीहरु उपचारका लागि आउने गरेका थिए ।
त्रिशूली अस्पतालमा नुवाकोट, रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार गरिदै आएको छ । चिकित्सकलाई परिक्षण गराउन भनेर टिकट काट्न त्रिशूली अस्पतालमा पुगेका धेरै बिरामीहरु फर्किन बाध्य भएका थिए ।

आन्दोलनरत चिकित्सकहरुले उक्त चिकित्सकीय अभ्याससम्बन्धि पछिल्ला मुद्दामा सुनाएको फैसलाले त्रास सिर्जना गरेको वताए । कतिपय चिकित्सकहरु हाजिर गरेर फर्किएको बताइएको छ ।
केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएर सोमवारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने भए पनि त्यसको पालना नहुँदा बिरामीहरु अत्यावश्यकीय स्वास्थ्य उपचारको सेवा पाउनबाट बन्चित हुँदै आएका छन् ।
आकस्मिक सेवातर्फका चिकित्सकहरुले भने सेवा दिएका छन् । वहिरंग सेवामात्र वन्द गरिएको एक चिकित्सकले वताए ।












































