विलासिता कर खारेजीको माग गर्दै व्यवसायीको जुलुश
विदुर–भ्याट खारेजीलगायतको माग गर्दै नुवाकोटका सुनचांदी व्यवसायीले आनदोलन गरेका छन् । उनीहरुले वुधवार विदुरमा प्लेकार्ड वोकेर विभिन्न मागसहित जुलुश गरेका छन् ।

सरकारले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार दर ६ प्रतिशतमै कायम राख्नु पर्ने, सुनचाँदीको कारोबारका लागि स्पष्ट, दीर्घकालीन र व्यवसायमैत्री नीति तथा नियमावली निर्माण गर्नु पर्नेलगायतका माग राख्दै सुनचांदी व्यवसायीले वट्टारदृखि संगमचोक, सैन्य तालिम केन्द्र हुदै विदुरसम्म जुलुश गरेका हुन् । सुनचाँदी व्यवसायमा लगाइएको कर तथा अस्पष्ट नीतिका विरुद्ध आन्दोलन गरिएको नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भीमराज वज्राचार्यले वताए ।

नुवाकोटका सुनचाँदी व्यवसायीहरूले वुधवार पहिलो पटक विदुरमा आफ्नो मागको नारासहित शान्तिपूर्ण जुलुश आयोजना गरेका हुन् । मोटरसाइकल ¥यालीसहितको जुलुशमा नुवाकोटमा सुनचांदी व्यवसाय गर्नेहरु सहभागी थिए । उनीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर सरकारसमक्ष आफ्ना मागहरू अघि सारेका थिए ।

हालको कर संरचनाले व्यवसायीहरूलाई दवावमा पारेको जनााउँदै सरकारले सुनचाँदी व्यवसायप्रति अविलम्ब ध्यान दिनुपर्ने आवश्यकता रहेको उनीहरुले वताए । व्यवसायीहरू निरन्तर अस्थिर नीति, दोहोरो कर प्रणाली र नियमनको अभावले समस्यामा परेको उनीहरुले गुनासो गरेका छन् ।

मागहरु पूरा नभएमा चरणबद्ध संघर्षका कार्यक्रम गरिने अध्यक्ष वज्राचार्यले वताए । सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागू हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उनीहरुले वताए । 
सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको थियो । बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।











































