प्रहरीलाई विपद व्यवस्थापनका सामग्री

–विपद तथा उद्धारमा सहजता
लोकखबर
२०८२ असार २५, बुधबार २३:३०

विदुर– उद्धारमा सहजता तथा विपद् व्यवस्थापनका लागि नुवाकोटको तादी गाउंपालिकाले प्रहरीलाई विपदका उद्धार सामग्रीहरु प्रदान गरेको छ । तादी गापा ३ खरानीटारमा रहेको इलाका प्रहरी कार्यालयलाई तादी गापाले विपद तथा उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

तादी गापा अध्यक्ष सन्तमान तामाङले इलाका प्रहरी कार्यालय खरानीटारकी प्रमुख तथा प्रहरी निरीक्षक जयन्ती थापालाई उक्त राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेका हुन् । तादी गापाले सावेल, लाइफज्याकेट, पिक, रेनकोट, डोरी, घिर्नि, टर्चलाइट, रुख काट्ने मेशिनसहित नौ प्रकारका विपद नियन्त्रण जन्य सामग्री इलाका प्रहरी कार्यालय खरानीटारलाई दिएको हो ।

सामान हस्तान्तरण गर्दै गापा अध्यक्ष तामाङले यसलाई प्रभावकारी रुपमा सदुपयोग गरि प्रहरीले वर्खा तथा अन्य समयमा आउन सक्ने विपदलाई व्यवस्थापन गरि जिउधनको रक्षा गर्न आग्रह गरे । अध्यक्ष तामाङले तादी र छिमेकी दुप्चेश्वर गापामा वाढी पहिरो तथा अन्य विपद्को सम्भावना रहेको वताउंदै विपद नियन्त्रण सामग्रीहरू प्रभावकारी रुपमा सदुपयोग गरि नागरिकलाई सुरक्षा गर्न सकिने वताए ।

स्थानीय सरकार अभिभावक भएको हुंदा सचेतना अपनाउंदै उक्त क्षेत्रमा विपद् व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई राहत तथा उद्धार सामग्री प्रदान गरिएको गापाले जनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटार तादी गापामै रहेकाले विपद्का वेला तत्काल परिचालन गर्न सकिने गरी विपदका विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनालको भनाई छ ।
गापा तथा प्रहरी दुवै निकाय समन्यपुर्ण रुपमा विपद् व्यवस्थापनमा सक्रिय रहेको प्रहरी निरीक्षक जयन्ती थापाको भनाई छ ।


सर्वाधिक रुचाइएको