विभिन्न स्थानमा सार्वजनिक सुनुवाई
बिदुर–नुवाकोटको विभिन्न तीन स्थानमा सार्वजनिक सुनुवाई गरिएको छ । उक्त कार्यक्रममा सहभागी सर्वसाधारणले आवस्यकतामा आधारित विकासका संरचना निर्माण गर्न जोड दिएका छन् ।
वेलकोटगढी नगरपालिका, तादी र तारकेश्वर गाउंपालिकामा सार्वजनिक सुनुवाई गरिएका हुन् । स्थानीय तहको कार्यालय, वडा कार्यालय, प्रहरी प्रशासनबाट भएका र सम्पादित कार्यहरु तथा प्रदान गरिएका सेवा, सुविधा लगायत समग्र विकास निर्माणको सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

वेलकोटगढीको महादेवफांट, तादीको खरानीटार र तारकेश्वरको दाङसिङमा सार्वजनिक सुनुवाई गरिएका हुन् । बेलकोटगढी ७ महादेवफांटमा आर्थिक वर्ष २०८१÷०८२ मा उक्त वडा भित्र सञ्चालित योजनाहरू तथा विकास कार्यक्रमहरूको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
यसअघि, उक्त नपाको कार्यालय वाघखोरमासमेत सार्वजनिक सुनुवाई गरिएको थियो । स्थानीय तहले स्थानीय सेवा प्रवाह, विकास निर्माण, सामाजिक सुरक्षा, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिँदै जनप्रतिनिधिहरूले प्रत्यक्ष रूपमा स्थानीयबासीको गुनासो, सुझाव र माग प्रत्यक्ष रुपमा सुनेका हुन् ।

कार्यक्रममा जनप्रतिनिधिहरु, नगरस्तरीय कर्मचारी, विभिन्न टोल विकास संस्था, महिला समूह, कृषक समूह, युवाहरू, र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी स्थानीयबासीले विकास आयोजनामा पारदर्शिता, सहभागिता र दीर्घकालीन सोचको माग राख्दै कतिपय काम समयमै सम्पन्न नभएको प्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

तादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा खरानीटारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । तादी गाउँपालिकामा शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह, विपद् व्यवस्थापन, कार्य सम्पदानलगायत विषयमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको तादी गापा अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।

कार्यक्रममा ६ वटै वडा कार्यालय र गाँउपालिकको कार्यालयको हालसम्मको प्रगति विवरण, बिनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन, सेवा प्रवाहका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सर्वसाधारणले आआफ्ना समस्या र गुनासाहरु प्रत्यक्ष रुपमा राख्न पाएको वताए ।
कार्यक्रममा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल, विभिन्न वडाको वडाध्यक्षहरु, विभिन्न विषयगत शाखाका संयोजकसहित कर्मचारीहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जनताको कार्य पहिलो प्राथमिकता रहेको निष्कर्श निकालिएको छ ।

उता, तारकेश्वर गापाको आयोजनामा भएको सार्वजनिक सुनुवाईमा गापा अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले गापामार्फत सन्चालन भएको सेवा, सम्पादित कार्यक्रम, पालिकामार्फत सञ्चालनमा रहेका नविनतम कार्यहरु, पालिकाको गौरवका योजना, लामो समयदेखि जनताको माग र समस्याको समाधानको लागी आफ्नो कार्यकालमा सम्पादित गतिविधिको जानकारी गराएका थिए । उनले तारकेश्वर २ र ३ मा खानेपानीको समस्या भइरहेको र उक्त स्थानको लागी विगतका सरकारले गर्न नसकी समस्याको रुपमा रहेको जोरघट्ट–तारुका खानेपानी आयोजना’लाई ‘तारकेश्वरको गौरव’को योजनाको रुपमा लिएर सम्पन्न गर्न सफल भएको दावी गरे ।

लामो समयदेखि नै उक्त योजनाको काम अघि बढेको भए पनि खानेपानीको हाहाकार भएका दुई वडाको बासिन्दालाई पानी खुवाउन मुहानको विवादको समस्या समाधान गर्दै पर्याप्त बजेटको अभावलाई समेत थप बजेट उपलब्ध गराई योजना पूरा गरिएको वताए । अध्यक्ष अधिकारीले लामो समयदेखि कायम रहेको विभिन्न समस्याको समाधान गर्दै जोरघट्ट–तारुका खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएको दावी गरे ।
उक्त आयोजनाको लागी वागमति प्रदेश सरकारबाट आएको बजेट अपुग भएसगैँ आवश्यक थप रकम पालिकाले बिनियोजन गरेर सबै समस्यालाई समाधान गर्न सफल भएको वताए । पालिकाबासीको माग र चाहना अनुसार आगामी दिनमा थप नविनतम कार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।
तारकेश्वरबासीको स्वास्थ्य सेवा सरल बनाउन, अधिकांश पालिकाबासी किसान रहेकाले पालिकाको सम्भावना भएको स्थानमा सोही अनुरुप कृषि क्षेत्रको विकास, पशु सेवा विस्तारका कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले आगामी दिनमा पालिकाबासीको माग र आवस्यकता अनुसार काम गर्ने अध्यक्ष अधिकारीले थप प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागीले गरेका जिज्ञासाको जवाफ दिदै पालिकामा कानून अनुसार काम भएको आश्वस्त बनाए ।

कार्यक्रममा तारकेश्वरका उपाध्यक्ष तथा जवाफदेही वक्ताको रुपमा हरिप्रसाद रिमालले आफ्नो जिम्मेवारीमा रहेको बजेटको निर्माण, अनुगमन, न्यायिक गतिविधि लगायतका कामको लागी आफू प्रतिबद्ध र जिम्मेवार भएर पालिकाबासीको सेवामा अनवरत रुपमा लागिरहेको बताए । स्थानीय शासन सञ्चालन ऐनमा उल्लेख गरिएका र जनप्रतिनिधिको रुपमा पालिकाबासीका समस्या समाधानको लागी आफू क्रियाशील रुपमा लागिरहेको उनको भनाई छ ।
जनतालाई गापाले प्रवाह गर्ने सेवाको सम्बन्धमा केही गुनासो तथा सुझाब तथा राम्रा कामको लागी आफू निरन्तर जनतासंग रहदाको समयमा समेत राख्न सक्ने भन्दै पालिकाबासीको शिक्षा, स्वास्थ्य, किसानले सधैँ अभाव भोगिरहेको रासायनिक मल सहज गराउने प्रयासमा लागिरहेकाले आगामी दिनमा पनि सोही अनुसार अघि बढ्ने उपाध्यक्ष रिमालले विश्वास दिलाए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिर्जना अर्यालले तारकेश्वरमा बिनियोजित योजना तथा कार्यक्रम र बजेट कार्यान्वयन, सेवा सन्चालन, विकास निर्माणका गतिविधिलगायतमा कानूनी आधारको पालना गरेर सम्पादन हुदैँ आइरहेको स्पष्ट पारिन् ।
अर्यालले आगामी दिनमा पनि कार्यसम्पादनको पारदर्शिता बढाउन जनसहभागिता सुनिश्चित गराई नागरिकको आवाज, सुझाव र गुनासोलाई सुन्ने र समावेश गर्दै लैजाने, जवाफदेहिता कायम गर्ने वताइन् । उनले सेवाको गुणस्तर सुधार गर्ने कार्यमा जनप्रतिनिधिले बनाएको नीति अनुसार कर्मचारीमार्फत कार्यसम्पादन गर्दै आइरहेको वताइन् ।
कार्यक्रममा तारकेश्वर १ का वडाध्यक्ष चक्रबहादुर तामाङ, २ का वडाध्यक्ष शिवप्रसाद पनेरु, ४ का वडाध्यक्ष हरिबहादुर पौडेल र ं ६ का वडाध्यक्ष नारायणप्रसाद रिमाललगायतले आ–आफ्नो वडाको कार्यालयबाट सम्पादित क्रियाकलाप, विभिन्न कार्य विवरण र सिफारिस संकलित राजश्व लगायतका विषयमा जानकारी गराएका छन् ।











































