हत्कडीसहित फरार थुनुवा पक्राउ
बिदुर–हत्कडीसहित थुनुवाहरु फरार भएका छन् । अस्थायी प्रहरी चौकी मैलुङवाट फरार रहेकाहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको ट्रिपरका चालक उत्तरगया गाउंपालिका २ सिम्लेका २० वर्षिय सुमन भन्ने छिरिङ तामाङ र सोही हाइड्रोमा काम गर्ने सहचालक प्युठानको गौमुखी गापा ३ का २५ वर्षिय तनबीर पुनमगर हतकडीसहित फरार भएकोमा मंगलवार डाडागाउंको सिम्लेवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हाइड्रोको सामानसहित पक्राउ गरी अस्थायी प्रहरी पोष्ट मैलुङ रसुवामा हत्कडी लगाई राखिएकोमा हत्कडीसहित फरार रहेकोमा फरार भएको चार घण्टामै सिम्लेवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवा उत्तरगया गापा १ मैलुङस्थित अस्थायी प्रहरीपोष्ट मैलुङको चेक पोष्टमा पनेरुको नेतृत्वमा ४ जनाको टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा मंगलवार विहान निर्माणाधिन त्रिशूली २१६ हाइड्रोपावरको पावर चाइना कम्पनीको बाप्र.०१००४क१२७९ नं. को आइचर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त गाडिमा कवाडीको सामान ( पुरानो टायर, डिक्स, पट्टा) समेत गरि करि पांचसय किलोग्राम तौल बराबरको कवाडी सामान उक्त हाईड्रोपावरबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरि हत्कडी लगाई हिरासतमा राखिएको थियो ।

उनीहरु फरार भएपछि खोजतलासको लागी प्रहरी पोष्ट मैलुङबाट प्रनानि मेघराज पनेरुको नेतृत्वमा ४ जना, इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रनानि तारामणी श्रेष्ठको नेतृत्वमा ४ जना, प्रहरीचौकी बेत्रावती रसुवाबाट प्रहरी वरिष्ठ हवल्दार रामकुमार श्रेष्ठको नेतृत्वमा २ जना, प्रहरी चौकी हाकुबाट ४ जना र प्रहरी पोष्ट ग्राङ रसुवाबाट प्रसनि बिपिन श्रीमलको नेतृत्वमा २ जनाको प्रहरी टोली खटिएर परिचालन भएका थिए । सामानसहितको आईचर गाडी र कवाडी सामान अस्थायी प्रहरी.पोष्ट मैलुङको नियन्त्रणमा रहेको छ भने फरार भएकाहरुलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय कालिकास्थान हुदै जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवा लगिएको छ ।











































