रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
सरोकारवालालाई एकैसाथ प्रमाण पत्र प्रदान
बिदुर–नुवाकोटको छिमेकी रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएको छ । कालिकास्थानमा आयोजित कार्यक्रममा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता—पूर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ सञ्चालनमा आएको उक्त खोप अभियान हिमाली रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएको हो ।

यसअघि, पांच गापा रहेको रसुवाको सौ स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना गापा घोषणा भएसंगै जिल्लालाई घोषित गरिएको हो । रसुवाका पाँच वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया सम्पन्न भएपछि रसुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा वागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले देशभर १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जानकारी दिँदै खोपको खेर जाने दर न्यूनीकरण, सेवा पहुँचको समावेशिता र दिगोपनालाई निरन्तरता दिन सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए । कुनै पनि बालबालिका खोप सेवा प्राप्तिबाट वञ्चित नहोस् भनेर सम्बन्धित निकायहरूलाई स्रोत र साधनको उपयुक्त प्रयोग गर्न उनले अपिल गरे ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गापा अध्यक्ष नुर्बुसाङ्मो घले, उत्तरगया गाउँपलिकाकी उपाध्यक्ष चमेली गुरुङलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले रसुवा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरी जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय रसुवालाई प्रमाणपत्र प्रदान गरे ।

यसअघि विभिन्न समयमा रसुवाको ५ वटा स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई घोषणा गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यको भनाई छ । उनका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविकाका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको छ । पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो ।













































