३८ वर्षपछि पार्टी त्यागे पुडासैनीले

–प्रदेश अध्यक्षलाई लिखित राजीनामा
लोकखबर
२०८२ श्रावण २, शुक्रबार २२:३६

बिदुर–विद्यार्थीकाल अर्थात् ३८ वर्षदेखि माओवादीमा क्रियाशील नुवाकोट कुमरीका एक जना युवाले पार्टी त्याग गरेको पत्र लेखेका छन् । माओवादी वागमति प्रदेश कमिटिका अध्यक्षलाई सम्वोधन गर्दै वेलकोटगढी नपा ३ कुमरी घर भएका माओवादी केन्द्र नुवाकोटका नेता केशव पुडासैनी ‘विमल’ ले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आफूले सम्पुर्ण जिम्मेवारीवाट वाहिरिएको जनाउंदै पार्टी परित्याग गरेको जनाएका छन् । २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टी मसालको भातृ संगठन अनेरास्वियुको इकाइ सदस्य हुँदै माओवादीको १० वर्षे जनयुद्धदेखि हालसम्म आफूले निष्ठापूर्वक पार्टीमा योगदान गरेको तर, अब पार्टीमा बस्न नसक्ने जनाउंन्दै राजीनामा दिएको पुडासैनीले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

उनले राजीनामापत्रमा २०४४ सालमा आफूले अध्ययन गरेको वीरेन्द्र  माविमा अध्ययन गर्दै नै केन्द्रीय अध्यक्ष भानु शर्माको नेतृत्वमा रहेको अखिल क्रान्तिकारीबाट नेपालको कम्युनिष्ट आन्दोलनमा आवद्ध भएको पनि स्मरण गरेका छन् । ५० वर्षिय पुडासैनीले ३८ वर्ष लामो राजनीतिक दौरानमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।
उनले पार्टीमा बस्न नसकेको भन्दै राजीनामाको मुख्य कारण नखुलाए पनि पार्टीभित्र पद, जिम्मेवारी तथा आन्तरिक व्यवस्थापन, अनुभव तथा योगदानको मूल्याङ्कन हुन नसकेको भन्दै पछिल्लो समय असन्तुष्ट थिए । उनी निकटका कार्यकर्ताहरुका अनुसार पार्टीमा पछिल्लो समय जिम्मेवारीका विषयमा असन्तुष्टि जनाउँदै आएको बुझिएको छ ।

‘करिब ३८ वर्ष लामो राजनीतिक यात्रामा निरन्तर रुपमा निष्ठापूर्वक पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी वहन गरे ।, तर अब पार्टीभित्र बस्न नसक्ने अवस्थामा पुगेकाले सम्पूर्ण जिम्मेवारीसहित पार्टी सदस्यता पनि परित्याग गरेको छु ।’
पुडासैनीले सशस्त्र द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्म माओवादी आन्दोलनमा पूर्णकालीन भूमिका निर्वाह गरेका थिए । उनले अब अर्को कुनै पार्टीमा आबद्ध हुने वा स्वतन्त्र रुपमा जीवन बिताउने भन्ने विषयमा भने स्पष्ट भएको छैन ।

 


सर्वाधिक रुचाइएको