बाढीले वगाएको स्याफ्रुवेशी–रसुवागढी सडक पुनः खुल्यो
बिदुर–चीनको तिव्वतस्थित लेन्देखोलामा आएको अकल्पनीय बाढीले क्षतिग्रस्त त्रिदेशीय सडकमार्गको स्याफ्रुवेशी–रसुवागढी सडकमार्ग पुनः सन्चालन भएको छ । गत असार २४ गतेको बाढीले कटान गरि अवरुद्ध स्याफ्रुवेशी–रसुवागढी सडकमार्ग मर्मत तथा पुर्ननिर्माण गरि आइतवार वेलुकीदेखि पुनः सन्चालन गरिएको हो ।

नेपाल र चीनको सिमाना रसुवागढीमा चीनको लेन्दे खोलाबाट आएको भीषण बाढीका कारण अवरुद्ध बनेको रसुवागढी–स्याफ्रुबेसी सडक दुई सातापछि पुनः सञ्चालनमा आएको हो । दैनिक रुपमा ठुला इक्युपमेण्टका साथै सयौं कामदार खटिएर कटान भएको स्थानमा नया. ट्रयाक निर्माणका साथै मर्मत गरेर पुनः सन्चालन गरिएको रसुवा प्रशासनले जनाएको छ ।

त्रिदेशीय सडकमार्ग अन्र्तगतको स्याफ्रुवेशी–रसुवागढी सडकमार्गको १५ दशमलव पांच किलोमिटरमध्ये १२ स्थानमा सडक कटान हुनुका साथै पहिरोसमेत गई सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । करिव चार किलोमिटर सडकको नयां ट्रयाक खोलिएको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए । 
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका अनुसार लिङलिङ र फ्याङलुङ खोलाबीचको स्थानमा क्षतिग्रस्त सडक मर्मत तथा नयाँ ट्रयाकको निर्माण सम्पन्न गरेपछि आइतबारदेखि यातायात सञ्चालन सुचारु भएको हो । वाढीले कटान भएका दुवैतर्फबाट १० दिनदेखि लगातार मर्मत र पुर्ननिर्माण कार्य अगाडि बढाउँदै अन्ततः ट्रयाक खुलाउने कार्य सम्पन्न भएको आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठको भनाई छ ।

भीषण बाढीले स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १२ स्थानमा सडक कटान गरिदिएको थियो । हेभि इक्युपमेण्टका साथै, प्राविधिक, कामदार तथा सुरक्षाकर्मी लगातार परिचालन भई सडक पुनः सन्चालन गरेको हो ।

पहिलो चरणमा हाललाई साना तथा ठुला गाडी होसियारीपुर्वक आवतजावत गर्न सक्ने अवस्था रहेको छ । गत असार २४ गतेको बाढीका कारण अवरुद्ध भएको रसुवागढी –टिमुरे–स्याफ्रुबेसी सडक खण्ड आइतवार वेलुकीबाट पुनः सञ्चालनमा आएको प्मुख श्रेष्ठको भनाई छ ।

विपत्तिका कारण सडकमा गरेको क्षति मर्मतपछि पुनः सवारी आवागमन सहज भएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरू पनि नियमित रूपमा सञ्चालनमा आएका छन् ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी र प्राविधिकको सहयोगमा सडक मर्मत कार्य तीव्र गतिमा अगाडि बढाइएको थियो । बाढीको कारण लामो समय सवारी ठप्प हुँदा यात्रुहरू र स्थानीय बासिन्दाहरूले ठूलो कठिनाइ भोग्नु परेको थियो ।

उता, नेपाल–चीन सिमानामा रहेको रसुवागढी नजिक चीनतर्फको कटान भागहरूमा समेत मर्मत तीव्र गतिमा भइरहेको र लेन्दे खोलामा बेलिब्रिज निर्माणका लागि चिनियाँ पक्षले तयारी थालेको बताइएको छ । रसुवागढी–टिमुरे–स्याफ्रुबेसी सडक खण्ड सञ्चालनमा आएसंगै उद्योगी व्यवसायी तथा सर्वसाधारण निकै खुसी भएका छन् ।

चीनले आफ्नो भेगमा वाढीले कटान गरेका स्थानहरूको पहिचान गरि मर्मत तथा लेन्दे खोलामा बेलिब्रिज निमार्णका लागि चार वटा स्काभेटर प्रयोग गरी स्टक्चर बनाउने काम भई रहेको स्थानीयवासीले जानकारी दिए । बेलिब्रिज निमार्णका लागि नेपालले कुटनीतिक रुपमा चिनीया पक्षलाई अनुरोध गरेको जनाइएको छ ।













































