गाउंमै राष्ट्रिय परिचय पत्र शिविर
बिदुर–ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुको सुविधाका लागि नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र शिविर सन्चालन गरिएको छ । सदरमुकाम पुग्न नसक्नेहरुका लागि शिविरमै विवरण संकलन गरिएको छ ।
दुप्चेश्वर गापाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा दुई दिनसम्म दुप्चेश्वर गापाका सवै सात वटै वडामा रहेका ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई लक्ष्यित गरि राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय परिसर, समुद्रटारमा भएको शिविरमा पहिलो दिन ७५ र दोश्रो दिन शनिवार ९१ जना गरि कुल एकसय ६६ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको गापा अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

शिविरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले विशेष प्राथमिकता पाएका हुन् । शिविरको पहिलो दिन दुप्चेश्वर १ देखि ४ सम्मका नागरिक तथा दोस्रो दिन शनिवार दुप्चेश्वर ५ देखि ७ सम्मका नागरिकले उक्त सेवा पाएका हुन् ।
सरकारले प्दान गर्दै आएको सामाजिक सुरक्षा भत्ताका लागि हाल राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा नागरिकलाई प्रशासन कार्यालय धाउनु नपरोस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
गाउँपालिकाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न सन्चालित शिविरमा प्राविधिक तथा सेवाग्राहीहरुलाई आवश्यक सहयोग गरेको दुप्चेश्वर गापाका भुपेन्द्र केसीको भनाई छ । दुप्चेश्वर अधिकांश तामाङ तथा शेर्पा समुदायको वसोवास रहेको पर्यटकिय स्थान हो ।











































