प्रशासनमा पांच करोड वढि आम्दानी
–वेरोजगारी समस्याले राहदानी वनाउने वढे
बिदुर–जिल्ला प्रशासन कार्यालय नुवाकोटले वितेको आर्थिक वर्षमा विभिन्न शिर्षकहरुवाट पांच करोड रुपैया राजश्व संकलन गरेको छ । प्रशासनले विभिन्न पांच शिर्षकहरुवाट उक्त राजश्व संकलन गरेको हो । कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा राहदानी वितरणसहित अन्य स्रोतबाट गरी कुल पांच करोड ३५ लाख ४ हजार आठ सय ५६ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासनले परीक्षा दस्तुरबापत १० हजार तीनसय, एजेन्सी दर्ता दस्तुर बापत तीन लाख ९१ हजार सातसय ५५, हातहतियार इजाजत दस्तुरबापत ३० हजार पांच सय र प्रशासनिक दण्ड जरिवानाबापत सात लाख ८८ हजार पांच सय ७६ रुपैयाँ राजश्व संकलन गरेको छ ।

सवैभन्दा वढि राजश्व राहदानी जारी गरेवापत नुवाकोटवाट सरकारलाई गत आर्थिक वर्ष २०८१÷०८२ मा पांच करोड २२ लाख ८३ हजार सातसय २५ रुपैया राजश्व संकलन भएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइको भनाई छ । यससंगै प्रशासनले नुवाकोटमा झण्डै सांढे पांच करोड राजश्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासनले प्रशासन, वैठक, नागरिकता शाखा, राहदानी शाखा, लेखा शाखा, मुद्धा शाखा, राष्ट्रिय परिचय पत्र शाखा, खाद्य गुणस्तर अनुगमन तथा नियमन, कार्यालय अनुगमन र विपद वयवस्थापन सम्वन्धि शिर्षकमा विविध कार्यहरु गरेको प्रजिअ शशिधर घिमिरेले वताए । उनका अनुसार सरकारले अनिवार्य गरेपछि प्रशासनवाट जारी हुने राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई प्रभावकारी तथा चुस्त वनाइएको छ ।

गत आवमा जिल्ला प्रशासनवाट कुल नौहजार दुई सय ८७ थान राष्ट्रिय परिचय पत्र वितरण गरिएको प्रशासकिय अधिकृत श्यामकृष्ण श्रेष्ठको भनाई छ । उनका अनुसार २४ हजार पांच थान राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिएका थिए ।
वढ्दो वेरोजगारी समस्याका कारण नुवाकोटमा वैदेशिक रोजगारीमा जानेहरु वढिरहेका छन् । जसअन्र्तगत राहदानी वनाउनेहरुको भीडसमेत वढिरहेको अर्का प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालको भनाई छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहदानीको वायोमेट्रिक आवेदन भने ११ हजार ३ सय १३ थान संकलन गरेको छ । जसमध्ये कार्यालयले नौ आठसय थान राहदानी सम्वन्धित व्यक्तिलाई वितरण भइसकेको जनाएको छ ।











































