अवरुद्ध सडकमार्ग सुचारु

– सचेत र होसियारीपुर्वक यात्रा गर्न आग्रह
लोकखबर
२०८२ श्रावण १३, मंगलवार २२:४१

बिदुर–अविरल वर्षात्का कारण अवरुद्ध रहेका नुवाकोटका विभिन्न सडकमार्गहरु मर्मत तथा पहिरो पन्छाएर सुचारु भएका छन् । सचेत र होसियारीपुर्वक यात्रा गर्न सम्वन्धित निकायले आग्रह गरेको छ ।
अविरल वर्षात्का कारण पहिरो खसेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गका विभिन्न सडकखण्ड तथा सहायक सडकमार्गहरू सुचारु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । वर्षात् भइरहेका कारण वाटोको अवस्था हेरेर यात्रा गर्न यातायात चालक तथा यात्रुहरुलाई प्रशासनले आग्रह गरेको छ ।

पहिराका कारण अवरुद्ध भएको शिवपुरी गाउँपालिका ६ अन्तर्गतको गुर्जे–खोलेगाउँ सडकखण्ड पहिरो पन्छाएर पुनः सञ्चालनमा ल्याइएको छ । शिवपुरी गापाको पहलमा जनशक्ति परिचालन गरि वाटो सुचारु गरिएको अध्यक्ष गोविन्दप्रसाद थपलियाको भनाई छ ।
अध्यक्ष थपलियासहितका जनप्रतिनिधिको पहलमा खोलेगाउँ सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो, माटो, ढुंगा, रुख र अन्य अवरोध हटाएर सडक खुलाइएको शिवपुरी गापा कार्यालय शेरावगरले जनाएको छ । वाटो अवरुद्ध हुंदा हजारौं सर्वसाधारणलाई समस्या परेको थियो ।

पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गतको शिवपुरी ३ को खोपासे भिर, शिवपुरी ५ को कुखुरे पुछारडाँडा, कठेरी पुछार, वडा कार्यालय नजिकको बाटो, र शिवपुरी ६ स्थित अम्बोटे लगायतका दर्जनौ स्थानहरूमा सडक माथिबाट आएको पहिरो हटाइएको हो । पहिरोले वन्द रहेका सडकहरु स्थानीय तहको समन्वय र सहयोगमा मर्मत तथा सरसफाई गरिएको पुनः सन्चालन गरिएको हो ।
वर्षात् अझै नरोकिएको र पहिरोको थप जोखिम कायमै रहेकोले सवारी चालक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइको भनाई छ । उनका अनुसार नुवाकोटको मुख्य सडकमार्गहरु त्रिशूली–देवीघाट–गल्छी, पासाङल्हामु मार्ग तथा त्रिशूली–गंगटे–छहरे–टोखा सडकमा सडक सुरक्षाका लागि विशेष सक्रियता अपनाइएको छ ।


सर्वाधिक रुचाइएको