डेंगु नियन्त्रणमा खटिए कर्मचारी
बिदुर–नुवाकोटको विदुर नगरपालिकाका कर्मचारी डेंगु नियन्त्रणमा खटिएका छन् । साउन महिनालाई ‘डेंगु सचेतना महिना’घोषणा गरेसंगै कर्मचारीहरु यसको नियन्त्रणमा जुटेका हुन् ।

एडिस नामको लामखुट्टेवाट सर्ने डेंगु रोगको जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि विदुर नगरपालिकाले विशेष सरसफाई अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत मंगलवार विदुर नपाको कार्यालय परिसर तथा आसपासमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पौडेलको नेतृत्वमा कर्मचारीहरुले डेंगु नियन्त्रणका लागि सरसफाई गरेका हुन् । कार्यक्रममा विदुर नपाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू सहभागी भई कार्यालय परिसरभित्र तथा वरपरका लामखुट्टे सम्भावित प्रजननस्थलको पहिचान गरी सरसफाई गरिएको कार्यालयले जनाएको छ ।

डेंगु नियन्त्रणका लागि सरसफाई नै प्रभावकारी माध्यम भएकाले सबै नागरिक, संघसंस्था र सार्वजनिक निकायहरूलाई लामखुट्टेको लार्भा वृद्धि विकास हुने स्थानहरू सफा राख्न आग्रह गरिएको छ । विदुर नपाले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रम तथा सरसफाई अभियानलाई निरन्तरता दिने जनाएको छ ।

विदुर नगरपालिका सबै नगरवासीहरूलाई डेंगु रोगबाट सुरक्षित रहन आग्रह गर्दै सरसफाईमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । डेगु नियन्त्रणका लागि प्रभावकारी र विशेष कार्यक्रम सन्चालन गरिने उनको भनाई छ ।













































