सांसद तथा पुर्वमन्त्रिको टोलीले गरे पहिरो तथा बाढीग्रस्त स्थलको निरीक्षण

– क्षति न्युनीकरणको कार्य गर्न निर्देशन
लोकखबर
२०८२ श्रावण १५, बिहीबार २१:२७

बिदुर–यस पटकको अविरल वर्षात्का कारण उत्पन्न प्राकृतिक विपद्ले नुवाकोटको पुर्वी भेगमा गरेको क्षतिको सांसदहरुको टोलीले स्थलगत अवलोकन निरीक्षण गरेका छन् । उनीहरुले क्षति न्युनीकरणका लागि आवस्यक कार्य गर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्रि हितबहादुर तामाङ र बागमती प्रदेश सभा सदस्य तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङसहितको टोलीले नुवाकोटको उत्तरपुर्वी भेग पुगेर बाढी तथा पहिरोले गरेको क्षतिको स्थलगत अवलोकन गरेका हुन् । उनीहरुले पहिरोले क्षतिग्रस्त दुप्चेश्वर ३ कल्लेरी तथा दुप्चेश्वर–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडक खण्डको अवलोकन गरेका हुन् ।

पहिरोले दुप्चेश्वर गाउँपालिका ३ कल्लेरीमा गएको पहिरोले घर जोखिममा परेका निष्कर्श निकालेको छ । पहिरोको व्यवस्थापन नभए उक्त स्थानका १३ घर जोखिममा परेको प्रदेश सभा सदस्य राधिका तामाङको भनाई छ ।

तामाङ नेतृत्वको टोलीले दुप्चेश्वर गाउँपालिकामा बर्षात र पहिरोका कारण भएको क्षतिको निरिक्षण गर्दै सम्वन्धित निकायले यसको व्यवस्थापन गर्न आवस्यक रहेको ठहर गरेको छ । टोलीले दुप्चेश्वर – समुन्द्रटार – गोल्फुभञ्ज्याङ सडक अन्तर्गत कल्लेरी गाउँ स्थित बस्ती, सडकमा गएको पहिरो, चालिसे बगर सहिद स्मृति पार्क, चन्द्रमती खोलामा निर्माणाधिन पक्की पुलमा भएको क्षतिको निरिक्षण गरेको हो ।

निरिक्षण पश्चात् टोलीले प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला प्रहरी प्रमुख लगायतलाई आवस्यक कार्य गर्न निर्देशन दिएको छ । उद्धार र राहतमा जुट्न तथा आवश्यक सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ ।

सांसदसहितको निरीक्षण टोलीमा दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, माओवादी केन्द्र दुप्चेश्वर ईन्चार्ज लालबहादुर तामाङ, पार्टी अध्यक्ष कमल खतिवडा, गापका विभिन्न वडाध्यक्षसहितका जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सम्वनिधत निकायसंँग समन्वय गर्दै राहत तथा उद्धार कार्यमा तिव्रता दिन निर्देशन दिएका छन् ।

साथै भविष्यमा यस्ता विपद्को असर न्यूनीकरण गर्न स्थानीय तह, प्रशासन र सुरक्षा निकायले पूर्वतयारीमा जुट्न आवश्यक सतर्कता अपनाउनुपर्ने सुझावसमेत दिएका छन् । स्थानीय बासिन्दाले पहिरोका कारण दैनिक आवतजावतमा समस्या आइरहेको भन्दै तत्काल सडक मर्मत र जोखिम न्यूनीकरणको माग गर्नुका साथै निरीक्षण टोलीले जनताको समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।


सर्वाधिक रुचाइएको