अपांगता तथा ज्येष्ठ नागरिकलाई गाउंमै सेवा
बिदुर–ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुको सुविधाका लागि नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र शिविर सन्चालन गरिएको छ । सदरमुकाम पुग्न नसक्नेहरुका लागि शिविरमै विवरण संकलन गरिएको छ ।

दुप्चेश्वर गापाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा शनिवार दुप्चेश्वर गापाका सवै सात वटै वडामा रहेका ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई लक्ष्यित गरि राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय परिसर, समुद्रटारमा सन्चालन गरिएको शिविरमा ९० जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको गापा अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

शिविरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले विशेष प्राथमिकता दिइएको छ । शिविरमा सात वटै वडाका अपांगता भएका तथा ज्येष्ठ नागरिकहरुको सहभागिता रहेका्े थियो ।

गत साता पनि दुई दिनसम्म सन्चालन गरिएको शिविरमा एकसय ६५ जनाको विवरण संकलन गरिएको थियो । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता र यसको नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा अपांगता भएका र जयेष्ठ नागरिकलाई जिल्ला प्रशासन कार्यालय विदुरसम्म धाउनु नपरोस् भनेर शिविर सञ्चालन गरिएको दुप्चेश्वर गापा अध्यक्षको सचिवालयका सचिव भुपेन्द्र केसीले बताए ।

साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । गाउँपालिकाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न सन्चालित शिविरमा प्राविधिक तथा सेवाग्राहीहरुलाई आवश्यक सहयोग गरेको छ ।

दुप्चेश्वर अधिकांश तामाङ तथा शेर्पा समुदायको वसोवास रहेको पर्यटकिय स्थान हो ।











































