मेरी वास्सैको जिम्मेवारी राजु मास्टरलाई

-फर्किए ६ वर्षपछि पुरानै घर
देवचन्द्र भट्ट
२०८२ श्रावण २३, शुक्रबार १८:३९

बिदुर–चर्चित हास्य कलाकार तथा निर्देशक राजु माष्टर उर्फ राजु पौडेल पुरानै घर फर्किएका छन् । राजु माष्टरले पुरानै अर्थात् आफ्नो कलायात्राको पहिचान भएको वहुचर्चित हास्य टेलिसिरियल ‘मेरिबास्सै’को जिम्मेवारीसहित फर्किएका हुन् ।
झण्डै दुई दशकको यात्रा पुरा गर्ने तयारीमा रहेको वहुचर्चित हास्य टेलिसिरियल ‘मेरिबास्सै’को मुल जिम्मेवारी लिएर हास्य कलाकार तथा निर्देशक राजु माष्टर ६ वर्षपछि आफुलाई पहिचान दिएको घरमै फर्किएका हुन् । राजु माष्टरले आगामी साताबाट प्रसारण हुनेगरी ‘मेरिबास्सै’को लेखन र निर्देशनको जिम्मेवारी लिएका हुन् ।

राजु माष्टरले ‘मेरिबास्सै’मा लेखन तथा निदेशनका साथै मुलपात्र राजु मास्टरको भुमिकामासमेत अभिनय गरेका छन् । उनको पुनःआगमनले ‘मेरिबास्सै’को उचाई वृद्धि हुने अपेक्षा प्रस्तुतकर्ता मिडिया हवले लिएको छ ।
मिडिया हवको प्रस्तुतीमा गत १९ बर्षदेखि नियमित प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा स्थापित, पुराना तथा नया कलाकारहरुको समिश्रण रहेको छ । ‘मेरिबास्सै’ बाट नै राजु पौडेलले १२ वर्ष अगाडि आफ्नो कलाकारिताको यात्रा सुरु गरेका थिए ।

त्यसवेला उनले माग्ने वुढाको भाई अर्थात् राजु माष्टरको भुमिकावाट आफुलाई स्थापित गरेका थिए । ‘मेरिबास्सै’मा त्यसवेलादेखि उनले लगातार १२ बर्षसम्म निरन्तर अभिनय गरेका थिए ।
राजुले वीचका ६ बर्ष अन्य हास्य तथा सामाजिक सिरियलहरुमा लेखन, निर्देशन तथा अभिनय गरेका थिए । ६ वर्षपछि पुनः उनी आफ्नै इतिहास वोकेको घर ‘मेरिबास्सै’ मा फर्किन पाउँदा आफुलाई निकै भाग्यमानी, औधी खुसी र जिम्मेवारीको बोध भएको निर्देशक पौडेल बताउँछन् ।


‘मेरिबास्सै’ मेरो पहिचान दिएको घर हो, आफ्नै घरमा फर्किन पाउँदा निकै खुसी लागेको छ । यसैले मलाई अहिलेसम्म कलाकारिता सिकायो, चिनायो, वुझायो, हसायो, सवै गरायो, यहाँसम्म आउन सक्नु मेरो सफलतामा ‘मेरिबास्सै’ को ठुलो देन छ ’ राजु मास्टरले खुलासा गर्दै भने ।

’अहिले यसको आफैले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु । आफ्नो राजु मास्टरको भुमिकालाई तिखार्दै नयां र विशेष दिने काम गरिरहेको छु, त्यसैले दर्शकहरुलाई हसाउनु र खुसी राख्नु पनि आफुले अर्को चुनौती थपिएको महसुस गरेको छु ।’
यसअघि, राजु मास्टरले पछिल्लो समय आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा सक्रिय थिए । उनले सफल सामाजिक टेलिसिरियल सकस एक चर्चित सिरियलको रुपमा पनि स्थापित भइसकेको छ ।

नेपालको कलाकारिता क्षेत्रमा राजु मास्टरले झण्डै डेढ दशक लामो अनुभव बटुलेका छन् । उनको अनुभव, लगाव तथा समर्पण अव दर्शकहरुले ‘मेरिबास्सै’मा देख्न पाउने र विशेष हुने  मिडिया हवले अपेक्षा गरेको छ ।

‘मेरिबास्सै’को ९२३ अंकबाट राजुले जिम्मेवारी सम्हालेका हुन् । उनका अनुसार उक्त अंकवाट नयाँ कथाबाट सिरियल अगाडि बढेको छ, जुन भगवानरुपी दर्शकले मन पराइदिनुहुनेछ । राजुले अगाडि भने, ’हामीले चार भागको छायांकन सकिसकेका छौं, अव यसको सम्पादनको काम सुरु हुनेछ ।’
‘मेरिबास्सै’को छायांकनस्थल धादिङको ज्वालामुखी पाउँपालिकाको ५ स्थित  खरी, भदुवार रहेको छ । उक्त स्थानमा सवै कलाकारहरु प्राविधिकसहित पुगेर छायांकन गरेको पौडेलले वताए ।

राजुले ‘मेरिबास्सै’मा ६ बर्ष अघिकै पुराना तथा केहि नयां कलाकाररु लिएर घर फर्किएको बताए । उनीसहित मास्टर्नीको भूमिकामा अनीता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु)लगायतका चर्चित तथा स्थापित कलाकारहरु छन् ।

वरिष्ठ कलाकारहरु रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), सन्देश लामिछाने (वट्टारे कान्छो), दीपेन्द्र तिमल्सिना (बालक), यादव थापा (ब्याजप्रसाद), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे) लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

‘मेरिबास्सै’ लाई सन्देश लामिछाने (वट्टारे कान्छो) ले सह निर्देशन गरेका छन् । यसलाई घनश्याम पोखरेल र ज्ञानकुमार कट्टेलले खिचेका हुन् ।
यसको सम्पादन रविन भट्ट र अशोक चौधरीले गरेका हुन् । ब्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन् ।

‘मेरिबास्सै’ प्रत्येक मंगलबार राती नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ । ‘मेरिबास्सै’ ले देशका विभिन्न चर्चित हास्य कलाकारहरु जन्माइसकेको छ ।

 


सर्वाधिक रुचाइएको