वढ्यो नाफा मेरो माइक्रोेको
बिदुर–नुवाकोटको वट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्थाको नाफा वढेको छ । वित्तिय संस्थाको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको हो ।
विदुर नगरपालिका ४ वट्टारवजारमा रहेको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त रकम अघिल्लो आवको भन्दा सात करोड तीन लाख रुपैया वढि हो ।

सार्वजनिक गरिएको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमालव २९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ मात्र नाफा कमाएको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको भनाई छ ।

उक्त अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ दशमलव १३ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १ दशमलव २३ प्रतिशत बढेको छ ।
उक्त लघुवित्तको कुल सञ्चालन आम्दानी १७ दशमलव ३६ प्रतिशत र सञ्चालन मुनाफा ५३ दशमलव ४८ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा रहेको छ ।
लघुवित्तको मूल्य आम्दानी अनुपात ५५ दशमलव ५९ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ । कुल एक अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको उक्त लघुवित्तको जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तिय संस्थाका सहायक प्रवन्धक राजु पुडासैनीको भनाई छ । उक्त लघुवित्तको देशका विभिन्न स्थानमा एकसय ५० वटा शाखाहरु रहेका छन् ।












































