चिट्टीपत्र र राजश्व दुवै घटे

– हुलाक टिकटवाट धेरै राजश्व
लोकखबर
२०८२ श्रावण ३०, शुक्रबार १९:२५

बिदुर–हुलाकवाट पत्रपत्रिका आवतजावतमा कमि आएसंंगै नुवाकोटमा राजश्व संकलनमा पनि कमि आएको छ । हुलाकमा अघिल्लो वर्षको भन्दा आर्थिक वर्ष २०८१÷०८२ मा राजश्व घटेको छ ।
संकलित राजश्वमध्ये हुलाक टिकट बिक्रिबाट धेरै संकलन भएको छ । अघिल्लो वर्षको भन्दा आव २०८१/०८२ मा जिल्ला हुलाक कार्यालय नुवाकोटमा पौने तीन लाख रुपैया कम राजश्व संकलन भएको छ ।
गत आवमा कुल राजश्व १८ लाख २८ हजार नौसय ५० रुपैया संकलन भएको हुलाक कार्यालय नुवाकोटले जनाएको छ । सो राजश्व अघिल्लो वर्षको भन्दा दुईलाख ६४ हजार तीनसय ५६ रुपैया कम हो ।

संकलित राजश्वमध्ये हुलाक टिकट बिक्रिबाट १४ लाख २७ हजार सात रुपैयाँ संकलन भएको कार्यालय प्रमुख सुमन लिम्वुले वताए । उनका अनुसार राजश्वमध्ये हुलाक सेवा शुल्क, भन्सार सम्वन्धि आय, प्रशासनिक दण्ड जरिवानालगायतवाटसमेत संकलन भएको छ ।
हुलाक कार्यालयले वितेको आवमा हुलाक सेवा शुल्कतर्फ १६ लाख ८९ हजार आठसय पांच रुपैया, भन्सार सम्वन्धि अन्य आयतर्फ ३० हजार सातसय दुई रुपैया, अन्य प्रशासनिक सेवा शुल्कतर्फ एकलाख तीनहजार ६५ तथा वेरुजु आय संकलनतर्फ पांचहजार तीनसय ७८ रुपैया राजश्व संकलन गरेको छ । कार्यालयमा रजिष्टर गर्ने चिट्टीपत्रहरु कमी भएका कारण राजश्व संकलनसमेत प्रभावित भएको जनाइएको छ ।
यसका साथै आधुनिकतालाई अंगाल्दै हुलामा पोष्टल इन्र्टनल ट्याकिङ सिष्टम आएपछि सुविधा भएको जनाइएको छ । हुलाक कार्यालय प्रभावकारी रहे पनि यसलाई आधुनिकिकरण आवस्यक रहेको सेवाग्राहीहरु वताउंछन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने हुलाक कार्यालय नुवाकोटमा २० लाख ९३ हजार तीनसय ६ रुपैया राजश्व सङ्कलन भएको थियो । उक्त वर्ष हुलाक सेवान शुल्कबाट मात्र १८ लाख ९३ हजार सात रुपैयाँ संकलन भएको थियो ।
आधुनिक उपकरणका कारण नुवाकोटमा विभिन्न प्रयोजनका चिट्ठीपत्रको आदानप्रदान घटेको छ । इन्टरनेट, सामाजिक सन्जाललगायतले परम्परागत हुलाक सेवालाई प्रभावित पारेको कार्यालयले जनाएको छ ।
सरकारी चिठ्ठीपत्र आदानप्रदान भइरहेका छन् भने जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आवेदन दिएका सर्वसाधारणको इपासपोर्ट हुलाकवाटै आइरहेको जिल्ला हुलाक कार्यालय नुवाकोटले जनाएको छ । आधुनिकतासंगै हुलाक सेवा प्रयोग गर्न सर्वसाधारणले छाडे पनि सरकारी चिठ्ठीपत्र र कागजात हुलाकमार्फत् पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय अनुसार सोही अनुसार कार्य भइरहेको छ ।
कार्यान्वयनको पछिल्लो समयमा इमेलको माध्यम र विभिन्न कुरियरमार्फत चिट्ठीपत्र आवतजावत हुंदा हुलाक सेवामा कमि आएको हो । सरकारी कार्यालयहरुले चिठ्ठीपत्रसहित विभिन्न हुलाक सम्बद्ध सेवा पनि विविध कुरियर र कार्गो कम्पनीबाट लिइरहेका छन् ।
पछिल्लो समयमा हुलाक सेवामा आकर्षण कम हुँदै गएको छ । हाल धेरैजसो सरकारी पत्र तथा परिपत्र इमेल र अनलाइन प्रविधिमार्फत नै कार्यालयहरुमा पुग्ने गरेका छन् ।


सर्वाधिक रुचाइएको