हराएकी महिला मृत भेटिइन्

– पति पक्राउ
लोकखबर
२०८२ भाद्र १, आईतवार २१:५२

बिदुर–गत साउन २७ गतेदेखि हराइरहेकी नुवाकोट ककनी माइती भई काठमाडौंको बूढानीलकण्ठ वस्ने ललीता विक नयां बसपार्कको होटलमा मृत भेटिएकी छन् । उनको पतिलाई प्रहरीले पक्राउ गरेको छ ।
ललीताको शव शुक्रबार राति फेला परेको थियो । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–२ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा ललीताको हत्या भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पर्सा वीरगन्जबाट पक्राउ गरेको हो । परिवारजनले सन्तोषले ललीताको हत्या गरेका दाव िगर्दै आएका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा ललीता र पति सन्तोषबीच सम्बन्ध बिच्छेद गर्न भनी सहमति भई दुबै जना भिन्न बस्दै गरेको र २०८२ साल साउन २७ गते सम्बन्ध विच्छेदको अन्तिम छलफल गर्ने जनाउंदै ललीतालाई उक्त होटलमा बोलाई हत्या गरेको जनाइएको छ । पक्राउ परेका सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले होटेलको कोठामा रहेको बेडभित्र भेटिएको शव ललीताको भएको पुष्टि गरे । एक वर्षे छोरीकी आमा ललीता असनको एक गार्मेन्टमा काम गर्थिन् ।

सधैंझै काममा जान भनेर उनी साउन २७ गते बिहान ८ बजे एक वर्षे छोरीलाई छाडेर असन पुगेकी थिइन् । त्यहाँ गएर केही घण्टा काम गरेपछि उनी २ बजेतिर निस्किएकी थिइन् । अन्य दिन खासै फोन नगर्ने उनका पति सन्तोष सेन्चुरीले उक्त दिन ललीतालाई पटक÷पटक फोन गरेका थिए ।
वेलुकी ६ बजेसम्म ललीताको मोवाइलमा फोन लागिरहेकै थियो । राती अवेरसम्म पनि घर नपुगेपछि उनका आफन्त र माइतीले खोजी सुरु गरेका थिए ।
साउन २८ गते प्रहरी वृत महाराजगञ्जमा ललिता हराएको हुँदा खोजतलास गर्नका लागि निवेदन दिएका थिए । तर, हराएको ५ दिनसम्म पनि प्रहरीले फेला पार्न सकेको थिएन् ।
मृतकको बुहारी अप्सरा विकले आफूहरूले सम्पूर्ण डिटेल्स प्रहरीलाई उपलब्ध गराएको र ‘गार्मेन्टमा काम गरिरहेकी ललितालाई लिन उनका श्रीमान सन्तोष सेन्चुरी गएका थिए । उनले ललितालाई घुम्न जाऊ भन्दै फकाएर गोंगबु बसपार्कको होटेलमा लगेर हत्या गरेर फरार भएको जनाइएको छ ।
सन्तोष ट्याक्सी चालक हुन् । दुई वर्षअघि मागी विवाह गरेका सन्तोष र ललीताको नावालिका एक वर्षीया छोरी रहेकी छन् ।
प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापाका अनुसार पहिले त मृतकका पति सन्तोष पनि ललीता हराएको भन्दै प्रहरीमा आएका थिए । प्रहरी र आफन्तको साथमा श्रीमती खोज्न भन्दै सँगै हिँडेका थिए ।
बसपार्कको होटेलको कोठामा दुर्गन्ध आएको अवस्थामा शव भेटिएको जानकारी प्रहरीलाई आएपछि घटनाका विषयमा वास्तविकता उजागर भएको थियो । सन्तोषले पत्नी ललीताको हत्या गरेर होटेलको बेडभित्र शव लुकाएका थिए ।
उक्त कोठामा अन्य व्यक्ति वास बस्न जाँदा कोठामा दुर्गन्ध आएपछि होटेल पक्षलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा कोठा खोजतलास गर्दा बेडभित्र ललीता विकको शव भेटिएको थियो ।
सन्तोषले गोंगबु मित्रनगरमा रहेका होटेलको कोठामा पत्नी ललीतालाई कुटपिट गरी मुख थुनेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सँगै बसेका उनीहरूलाई बिहान नदेखिपछि रकम नतिरी फरार भए होलान भनेर ठानेर होटेलका कर्मचारीले सन्तोषलाई मोवाइलमा फोन गरेका थिए । तर, उनी मोबाइल स्वीचअफ गरेर फरार भएका थिए ।
मृतकको भाई मोतिराम विश्वकर्मा भन्छन्–दिदीको हत्या गरी प्रहरीसँगै खोजतलासमा हिँडेका सन्तोषलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन प्रहरीमा उजुरी दिएका थियौ । बसपार्कमा महिलाको शव भेटियो भन्ने खबर सुन्नासाथ सन्तोष फरार भएका थिए । आफूले हत्या गरेको लुकाउन र प्रहरीको विश्वास जित्न पत्नी हराएको जनाउंदै उनी आफैं प्रहरी कार्यालय धाइरहेका थिए ।
यस सम्वन्धमा काठमाडौं प्रहरी प्रवक्ता बोहोरा घटनाको प्रारम्भिक अनुसन्धानमा सन्तोषले नै ललिताको हत्या गरेको पाइयो । आफन्तजनका अनुसार केही महिनादेखि सन्तोष र ललीताको सम्बन्धमा दरार आएको थियो ।


सर्वाधिक रुचाइएको