तारुकाका भत्ता लिने व्यक्ति काठमाडौंमा खोजिंदै
बिदुर–वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको तारकेश्वर गाउंपालिकाको एउटा वडाले सामाजिक सुरक्षा वापतको भत्ता लिने व्यक्तिको काठमाडौमा खोजि गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको सहजताका लागि तारकेश्वर गापा २ तारुकाले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौमा शिविर आयोजना गरेको हो ।
उक्त वडावाट काठमाडौमा पुगेर अस्थायी रुपमा बसोबास गरिरहेका वृद्धवृद्धा तथा अशक्त वडाबासीहरुको सहजताका लागि राष्ट्रिय परिचयपत्र विवरण संकलन शिविर सञ्चालन गरेको हो । सामाजिक सुरक्षा भत्ताका लागि नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय अनुसार अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली(औठा छाप) आवस्यक रहेको छ ।

वडा कार्यालयले पहिलो पटक राजधानी काठमाडौको बालाजु बाइसधारामा यहि भदौ ४ गते वुधवार शिविर आयोजना गरिएको वडाध्यक्ष शिवप्रसाद पनेरुले जानकारी दिए । वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरु वडा कार्यलयसम्म जान असहज हुने भएकाले राजधानीमै शिविर आयोजना गरिएको उनको भनाई छ ।
वडाध्यक्ष पनेरुका अनुसार वडा कार्यलयले बायोमेट्रिकका लागि अनिवार्य रुपमा लाभग्राही स्वयम् उपस्थित हुनुपर्ने र शिविरमा आफ्नो सहजता मिलाई वृद्धवृद्धा तथा अशक्तहरुले उपस्थित भएर राष्ट्रिय परिचय पत्र विवरण उपलवध गराउन आग्रह गरेका छन् । वडा कार्यालयले नवीकरणका लागि अनिवार्य रुपमा आवश्यक पर्ने कागजातहरुमा राष्ट्रिय परिचयपत्रका लागि स्वयम् उपस्थित हुनुपर्ने, नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता प्रमाणपत्र, एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाह नभएको स्वघोषणा, पतिको मृत्यु दर्ता साथैमा लिएर आउनु पर्ने जनाएको छ ।
यसका साथै अपाड्गता भएका व्यक्तिको हकमा सक्कल परिचयपत्र र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरुले भने बसाई सराईको प्रमाणपत्रका आधारमा विवरण संकलन गरिने भएको पनि वडाध्यक्ष पनेरुको भनाई छ ।

वडा कार्यालयको उक्त निर्णयवाट लाभग्राहीहरु खुशी भएका छन् । सरकारले ७० वर्ष कटेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाड्गता भएका व्यक्ति, दलित बालबालिकाहरुलाई बैंकमार्फत समाजिक सुरक्षा भत्ता उपलव्ध गराउंंदै आएको छ ।
तारकेश्वर २ स्थायी ठेगाना भएर हाल काठमाडौंमा बसोबास गर्दै आएका व्यक्तिहरुलाई लक्ष्यित गर्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नयाँ नाम दर्ता तथा नवीकरण गर्ने सुविधा वुधवार काठमाडौको बाइसधारा, बालाजुमा बिहान १० बजेदेखि दिउंसो ३ बजेसम्म सेवा उपलब्ध गराइने तयारी भएको छ ।











































