पौने दुई अर्वको जलविद्युत आयोजना निर्माण सुरु
बिदुर–नुवाकोटको उत्तरी भेगमा रहेको दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीमा तादी–घ्याङ्फेदी जलविद्युत आयोजना निर्माण भइरहेको छ । यसले विद्युत उत्पादनमा नेपालको क्षमतालाई वृद्धि गर्ने जनाइएको छ ।
कुल आठ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना ‘रन अफ रिभर’ प्रविधिमा आधारित छ । उक्त आयोजनाको लागत एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी मोडेलमा एबिसी कम्पनीमार्फत आयोजना निर्माण भइरहेको बताइएको छ । कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठका अनुसार यसको निर्माणपछि देशमा विद्युत उत्पादनमा सहयोग पुग्नेछ ।

निर्माण कार्यमा सहजीकरणका लागि दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधि र जिल्ला स्तरको संयन्त्रबीच सहमति, सहकार्य र छलफल भई सहमति जुटिसकेको अध्यक्ष श्रेष्ठको भनाई छ । तादी घ्याङफेदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता अनुसार आयोजनामा ऋण एक अर्ब २३ करोडसहित आयोजनाको कुल लागत एक अर्ब ६४ करोड रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली हिउँदयाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरि नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्झौता भईसकेको छ । उक्त जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ तादीमा निर्माण भइरहेको छ ।
उक्त जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट आगामी २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्यरहेको छ ।
उक्त ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । सो जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।
सोे जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ र १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिने छ । आयोजनावाट उत्पादित विद्युत् ३३ केभीए सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिने प्राविधिक पक्षको भनाई छ ।

ध्वनि प्रदूषण न्यूनीकरणका लागि विस्फोटकको सट्टा केमिकल प्रविधिबाट ढुङ्गा फुटाउनेसमेत आयोजनाका अध्यक्ष पुर्णलाल श्रेष्ठले वताए । हाल आयोजना अन्तर्गत पावरहाउस र स्वीचयार्ड निर्माणको काम भइरहेको छ ।











































