६ सय ७२ घर परिवारको एकैपटक वीमा
बिदुर–सामुदायिक उत्तरदायित्व वहन कार्यक्रम अन्र्तगत नुवाकोटको विदुर नगरपालिकाले लक्ष्यित वर्गका ६ सय धेरै घरपरिवारको स्वास्थ्य वीमा गरिदिएको छ । यसवाट झण्डै तीनहजार जनसंख्या लाभान्वित भएका छन् ।

विदुर नपामार्फत नगर भित्रका विपन्न, दलित, सिमान्तकृत तथा आर्थिक रूपले समस्यामा परेका नागरिकहरुका लागि सञ्चालित ’अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्र्तगत वीमा कार्यक्रम सुरु गरिएको हो । मेयर राजन श्रेष्ठले वीमा प्राप्त व्यक्ति विदुर ५ की संगीता कुंवर र विदुर १३ की प्रेमकुमारी शिवभक्तिलाई स्वास्थ्य वीमा वापतको कार्ड हस्तान्तरण गरेर उक्त कार्यको शुभारम्भ गरे ।

उनले मानवको स्वास्थ्य सेवा प्रमुख रहेको र यसका लागि विदुर नपाले उक्त अभियान सन्चालन गरेको वताए । मेयर श्रेष्ठले विपन्न, दलित र सिमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि बीमा महत्वपूर्ण माध्यम भएकोसमेत बताए ।

उनले स्वास्थ्य उपचारलाई आर्थिक भार नभई अधिकारका रूपमा स्थापित गर्न बीमा योजनाले सहयोग गरेकोसमेत वताए । यसलाई प्रभावकारी रुपमा सदुपयोग गर्न उनले आग्रह गरे ।

संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत विदुर नपाको निर्णय अनुसार विदुरका अति विपन्न घर परिवारका झण्डै तीन हजार सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गर्ने कार्य गरिएको हो । कार्यक्रममा मेयर श्रेष्ठले विदुर ५ का लाभग्राहीको बीमा परिचयपत्र एकमुष्ट हस्तान्तरण गरेका छन् ।

बिमितको बिमा कार्यक्रम भदौ १ गतेबाट नै लागू भएकाले अब सेवा लिन पाउने स्वास्थ्य शाखाले जनाएको छ । विदुर नपामा रहेका १३ वडावाट उक्त कार्यक्रम अन्र्तगत ६ सय ७२ घरपरिवारमा आबद्ध २ हजार ६ सय जना भन्दाबढी नगरबासी प्रत्यक्ष रुपमा लाभान्वित भएको स्वास्थ्य शाखाले जनाएको छ ।

यससंगै विदुर नपाले अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको हो । कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले स्वास्थ्य उपचारको पहुंच वाहिर रहेकेका विपन्न नागरिक उपचार खर्चका कारण थप समस्यामा नपर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाइएको दावी गरिन् ।

उनले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन नगरपालिकाले आवश्यक स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइन् । उक्त कार्यक्रमलाई विदुर नपाले प्रभावकारी वनाई आगामी दिनमा लक्ष्यित वर्गलाई थप लाभदायक कार्यक्रम ल्याउने निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद प्याकुरेलले वताए ।

यसवाट दलित, विपन्न तथा अति गरिव परिवारलाई निकै राहत मिलेको उनले दावी गरे । कार्यक्रममा विदुर नपा १ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, ४ का कावा वडाध्यक्ष छविलाल ओझा, ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, ९ का वडाध्यक्ष हरेराम भण्डारी, १० का वडाध्यक्ष गणेशकुमार नेपाल, ११ का वडाध्यक्ष बाबुराम तामाङ, १३ का वडाध्यक्ष भरत तामाङ, जनस्वास्थय निरीक्षक राजाराम भण्डारी, स्वास्थ्य बिमा कार्यालय नुवाकोटका प्रमुख रोशन बराल, बीमित सेवाग्राही तथा बीमा अभिकर्तासहितकोे सहभागिता रहेको थियो ।

स्वास्थ्य बीमामार्फत प्रत्येक बीमित परिवारले वार्षिक निश्चित रकमसम्मको उपचार खर्च पाउनेछन् । यसबाट सामान्य उपचारदेखि जटिल रोगको अस्पताल सेवा लिँदा पनि राहत पुग्ने अपेक्षा गरिएको विदुर नपाले जनाएको छ । नपाका अनुसार यस कार्यक्रमले विशेष गरि गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी नागरिकलाई विशेष लाभ पाउनेछ ।


















































