तीन स्थानमा गरियो रगत संकलन कार्यक्रम

– एकसय २० जनाले गरे रक्तदान
लोकखवर विशेष संवाददाता
२०८२ भाद्र ९, सोमबार २०:२२

बिदुर–एक लाख युनिट रगत संकलन गर्ने अभियानसहित नुवाकोटको विदुरमा सन्चालन गरिएको वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । विश्व गिनिज रेकर्डमा समेत नाम राख्ने उद्देश्यले नुवाकोटका विभिन्न तीन स्थानमा बृहत रक्तदान महाअभियान सन्चालन गरिएको हो ।

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको आयोजनामा विदुर नपाको वट्टारवजार, ढुंगे र देवीघाटमा उक्त अभियान सन्चालन गरिएको हो । रक्तदान अभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

केन्द्रको आयोजना र नेपाल रेडक्रस सोसाईटी नुवाकोटको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा वृहत रक्तदान अभियान गरिएको पिपलटार लामिवगैचा युवा क्लवका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए । वृहत रक्तदानमा जनप्रतिनिधि, विभिन्न पेशामा आवद्ध व्यक्ति, शिक्षक, विद्यार्थी, सर्वसाधारणले सहभागिता जनाएको देवीघाट जालपा क्लवका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए ।

अभियानलाई साथ दिदै तीन स्थानमा भएको विभिन्न क्षेत्र तथा समुदायका एकसय २० जनाले रगतदान गरेका थिए । कार्यक्रममा महिलाहरुलेसमेत रक्तदान गरेका थिए ।

देवीघाटमा सोमवार भएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मेयर राजन श्रेष्ठले सामुदायिक अभियानवाटै समाजमा सकारात्मक परिवर्तन हुने वताए । उनले रगतदान, जीवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै पछिल्लोसमय रक्तदान गर्नेहरु वढिरहेको वताए ।

कार्यक्रममा विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायतले रक्तदानले मानव जीवनको रक्षा गर्ने भएका कारण हरेक स्वास्थ्य नागरिकले रगत दान गर्न सक्ने वताए । स्वास्थय मापदण्ड पुगेका नागरिकले रक्तदान गर्दा शरिरलाईसमेत फाइदा गर्ने श्रेष्ठले वताए ।

 


सर्वाधिक रुचाइएको