वर्षातबाट बसिरहेको घर लड्यो

– अन्नपात, भांडाकुंडा नष्ट, टहरामा वास
देवचन्द्र भट्ट
२०८२ भाद्र ९, सोमबार २०:३२

बिदुर–वर्षातको  कारण नुवाकोटको तारुकामा एक परिवार आश्रित घर लडेको छ । अन्नपात, भाडाकुंडा क्षति भएको छ ।

सदरमुकाम विदुरदेखि २६ किलोमिटर दुरीमा रहेको तारकेश्वर गाउंपालिका २ कोलडांडास्थित बलराम सिग्देलको घर वर्षातको कारण भत्कदा घरसहित घरभित्र रहेको विभिन्न धनमाल र अन्नपातसहित १० लाख रुपैया वरावरको नोक्सान भएको सिग्देलका छिमेकी तथा पुर्व वडाध्यक्ष समरवहादुर आलेमगरले जानकारी दिए । उनका अनुसार घर भत्किएपछि सिग्देलका आठ जनाको परिवार दक्षिणतर्फको अस्थायी टहरोमा वस्न वाध्य भएका छन् ।

वर्षातको कारण घर लडेपछि भित्र भएको धान, मकै, कोदो, गहुं, दराज, भाडाकुडा, लत्ता–कपडा क्षति भएको वडाध्यक्ष शिवप्रसाद पनेरुको भनाई छ । उक्त घरको भत्किन बांकी रहेको भग्नावशेषले उच्च जोखिममा पारेका  कारण सोमवार सुरक्षाकर्मीद्वारा वयवस्थापन गरिएको पनेरुले जानकारी दिए ।

मद्धतका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई आग्रह गरिएको र घिमिरेको समन्वयमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी जवानहरुबाट घरको थप जोखिम हटाउने कार्य सम्पन्न गरिएको छ । घर लडेपछि सुरक्षाकर्मी, स्थानीयबासी र जनप्रतिनिधिद्वारा लडेको घरलाई पुर्ण रुपमा व्यवस्थापन गर्ने कार्य गरिएको छ ।

घर लडेपछि सिग्देल, उनकी पत्नी, छोरावुहारी, नाती नातिनासमेत आठ जना घर लडेको घर नजिकै रहेको अस्थायी टहरोमा वसिरहेका छन् । वर्षातको समयमा सर्वसाधारणलाई सचेत रहन नुवाकोट प्रशासनले आग्रह गरेको छ ।

 


सर्वाधिक रुचाइएको