शिक्षकहरुले शिक्षा इकाइमा दिए धर्ना
बिदुर–सरकारसंग भएका सहमति बमोजिम शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नुवाकोटमा शिक्षकहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले सरोकारवाला कार्यालय तथा निकायहरुमा धर्ना तथा विरोध कार्यक्रम गरिरहेको छ ।

शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई विदुरमा आइतवार धर्ना दिएका छन् । महासंघको अगुवाइमा शिक्षकहरुले उक्त कार्यालयमा माग पुरा गर्न सरकारलाई दवाव दिने उद्धेश्यले दुई घण्टा धर्ना दिएका हुन् ।

शिक्षक महासंघको विरोध कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटमा स्थायी, राहत, अस्थायी, करारलगायत सबै प्रकृतिका शिक्षक एवं कर्मचारी धर्ना कार्यक्रममा सहभागी भई निमित्त कार्यालय प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र वुझाएका हुन् । उनीहरुले सरकारले शिक्षकहरुलाई अलमलाउन खोजेको आरोप लगाए ।

शिक्षासम्बन्धी कानून निर्माणको प्रक्रिया अपरिहार्य विषयको रूपमा रहेको शिक्षकहरुको भनाई छ । शिक्षक महासंघ लगायत शिक्षक संगठनहरूले विद्यालय शिक्षा ऐन लागू गर्न माग गर्दै विरोधका कार्यक्रम गरेका हन् ।

शिक्षा मन्त्रालय र शिक्षक महासंघका बीचमा ९ बुँदे सहमति भएकोमा त्यसलाई कायाृन्वयन गरिनु पर्ने महासंघको माग रहेको छ । विरोधको कार्यक्रम अन्तर्गत नुवाकोटको विभिन्न स्थानमा कार्यरत स्स्थायी, राहत, अस्थायी, करार लगायत सबै प्रकृतिका शिक्षक तथा कर्मचारी धर्ना कार्यक्रममा सहभागी थिए ।












































