वाल अधिकार तथा नेतृत्व विकास कार्यक्रम

– दुई गापाका विद्यार्थी सहभागी
लोकखबर
२०८२ भाद्र १६, सोमबार १८:१७

बिदुर–नुवाकोटमा बाल अधिकार, संरक्षण र नेतृत्व विकास सम्बन्धि कार्यक्रम प्रदान गरिएको छ । दुई वटा गाउंपालिकामा उक्त कार्यक्रम प्रदान गरिएको हो ।

दुप्चेश्वर र पन्चकन्या गापामा बाल अधिकार, बाल संरक्षण तथा नेतृत्व विकास सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको हो । तालिममा विभिन्न बालक्लबका ७२ जना सदस्यहरू, ६ वटा विद्यालयस्तरीय बाल क्लब र ६ जना फोकल शिक्षकको सक्रिय सहभागिता रहेको थियो ।

तालिमले बालबालिकामा आफ्नो अधिकार, नेतृत्व विकास र बाल संरक्षण सम्बन्धी ज्ञान विस्तार गर्नुका साथै उनीहरूलाई विद्यालय र समुदायमा अधिकारको लागि आवाज उठाउन र नेतृत्व गर्न प्रेरित गरेको आयोजक रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ । उनका अनुसार तालिममा सहभागी विद्यालयहरूमा पन्चकन्या गापाको राष्ट्रिय मावि, नवसञ्जीवनी मावि, कालिका माविका साथै दुप्चेश्वर गापाको कौकेश्वरी मावि, भूमेश्वरी मावि र कमलमनिक मावि रहेका छन् ।

बालबालिकालाई आफ्नो अधिकारप्रति सचेत बनाउनु, बालविवाह अन्त्य गर्नु, न्युनिकरणका उपायहरूबारे जानकारी दिनु र नेतृत्व विकासको महत्त्व बुझाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । सहभागी बालबालिकाहरुले बाल अधिकार सुनिश्चितता, बालविवाह विरुद्धको अभियानमा योगदान दिन सक्ने उपायहरू र नेतृत्व विकासले उनीहरूको भविष्यमा पार्ने सकारात्मक प्रभावबारे अन्तृक्रियासमेत गरेका थिए ।
बालबालिकामा आफ्नो अधिकार सुनिश्चित गर्न र भविष्य उज्यालो बनाउने मार्गनिर्देशन प्रदान गर्न उक्त तालिम अत्यन्त उपयोगी रहेको सहभागीहरुले बताए । उक्त कार्यक्रमले छिट्टै घोषणा गरिन लागेको बालमैत्री स्थानीय शासन निर्माणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त कार्यक्रमले समग्रमा बालक्लब, सक्रिय शिक्षक र प्रतिबद्ध स्थानीय नेतृत्वमार्फत दुप्चेश्वर र पंचकन्या गापामा सुरक्षित, समावेशी र बालमैत्री समुदाय निर्माण गर्ने बलियो आधार तयार पारेको तालिम सहजकर्ता हिमाल पहरीको भनाई छ । तालिम रुडेक नेपालले आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको हो ।


सर्वाधिक रुचाइएको