ग्रामीण भेगमा वृहत आंखा शिविर सुरु
बिदुर–गाउंवासी आंखाका विरामीहरुको सुविधाका लागि नुवाकोटमा वृहत आंखा उपचार शिविर सन्चालन गरिएको छ । पञ्चकन्या गाँउपालिकाको लाकुरीभञ्याङ्गमा उक्त शिविरको सुरुवात भएको छ ।
पञ्चकन्या गाँउपालिका–३ लाकुरीभञ्याङ्गमा आयोजित शिविरको गापा अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले उद्घाटन गरे । उनले आंखा जस्तो संवेदनशील अंगको स्याहार, उपचार तथा सुरक्षामा ध्यान दिन आमसर्वसाधारणमा आग्रह गरे ।

पन्चकन्या गापाले गाउंका नागरिकहरुलाई स्वास्थ्य सेवा पहुंचमा पु¥याउन आँखा शिविरलाई प्राथमिकता दिएको हो । आंखा सम्बन्धि समस्या भएका गाउंवासीलाई घरदैलोमै सेवा दिन उक्त शिविर प्रभावकारी हुने अध्यक्ष तामाङको भनाई छ ।
गापा अध्यक्ष तामाङले आफ्नो आँखासमेत परिक्षण गरे । उक्त आंखा शिविर पन्चकन्याको विभिन्न चार स्थानमा आयोजना गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौ, सामुदायिक आँखा केन्द्र नुवाकोट, रेडक्रस नुवाकोटबो सयुक्त आयोजना तथा सम्वन्धित स्थानीय तह, वडा कार्यालयहरु, रेडक्रसको उपशाखा सहित विभिन्न स्वास्थ्यचौकी, विद्यालयलगायतसंगको समन्वय एंव सहजिकरणमा नुवाकोटको पञ्चकन्य गापााको चार स्थानसहित विभिन्न आठ स्थानमा शिविर आयोजना गरिएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार निःशुल्क रुपमा सञ्चालनमा आएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक मेसिनबाट निःशुल्क आँखा जाँच, निःशुल्क औषधि वितरण, सुपथ मुल्यमा चस्मा वितरणको सेवा उपलब्ध रहेको छ ।

उक्त स्थानहरुमा मोतियाविन्दु पहिचान भएका बिरामीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिने भएको छ । शल्यक्रिया सेवा पनि सहुलियत शुल्कमा सामुदायिक आँखा केन्द्र सर्जिकल भवन विदुरमा यही भदौ ३० र ३१ गते मोतियाविन्दुको शल्यक्रिया गरिने व्यवस्था मिलाइएको आयोजक सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए ।
पञ्चकन्या उपशाखाको कार्यालय लाकुरीभञ्ज्याङ्गमा गरिएको शिविरमा एकसय ५७ जनाको आंखाको परिक्षण गरिएको छ । जसमध्ये १४ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान भएको छ ।













































