बाढीले अवरुद्ध सडक मर्मत
बिदुर-नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरमा बाढीका कारण अवरुद्ध सडक दुई दिनपछि सन्चालन भएको छ । शुक्रवार वेलुकी अविरल वर्षातसंगै आएको बाढीले पिच सडक नै वगाएपछि उक्त स्थानमा आवागमन नै ठप्प भएको थियो ।
आवतजावत नै ठप्प भएपछि शनिवार दुई वटा हेभि इक्युपमेण्ट मेशिनमार्फत सडक मर्मत गरि अस्थायी रुपमा सन्चालन गरिएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले शनिवार विहानैदेखि हेभि इक्युपमेण्ट लगाएर मर्मत सुरु गरिएको वताए ।
उनका अनुसार आवतजावत सुचारु भएको छ । विदुर नगरपालिका ८ र १३ को वीचमा रहेको खुर्सानेखोलाले पुल छेउको १० मिटर पिच बाटो बगाएकोमा सडक मर्मत गरि एकतर्फि रुपमा सन्चालन भएको स्थानीयवासी श्याम ओझाले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षात्संगै आएको बाढीले सडक नै कटान गरेर यातायात अवरुद्ध भएको थियो । पुलको पश्चिमतर्फ रहेको पिच सडक १० मिटर वगाएको हो ।
उक्त सडक नुवाकोटको सामरीलगायत उत्तरी धादिङवासी जाने वाटो हो । दैनिक ६० वटा वस, ट्रकलगायत साना गाडी तथा पांचसय थान मोटरसाइकल आवतजावत गर्ने सडक नै बाढीले कटान गरेपछि यात्रुहरु मर्कामा परेका थिए ।











































