दुई दिनदेखि हराइरहेका वृद्ध मृत भेटिए
– त्रिशूली नदीमा भेटियो शव
बिदुर– हराइरहेका नुवाकोटका एक जना वृद्धको शव दुई दिनपछि फेला परेको छ । त्रिशूली नदीमा वृद्धको शव फेला परेको हो ।
विदुर नगरपालिका ८ का ६५ वर्षिय ठुलोकान्छा माझी वुधवारदेखि हराइरहेकोमा उनको शव विहीवार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५, कोल्पुटार दोवानटारस्थित त्रिशूली नदिको बगरमा उनको शव फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।

उनका अनुसार, घटनास्थलमा प्रहरी अधिकृतको नेतृत्वमा टोली खटाई प्रारम्भिक जाँच, मुचुल्का र अनुसन्धान कार्य सम्पन्न गरिएको छ । माझीको शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल नुवाकोटको शव गृहमा राखिएको छ ।
वृद्ध माझीको शव घरभन्दा २० किलोमिटर तल नदीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।











































