१५ सूचकमा विद्यालय अनुगमन

– अध्ययन, परिक्षा, खेल सामग्री, फर्निचरसहितको अवलोकन
लोकखबर
२०८२ आश्विन २८, मंगलवार २०:२४

बिदुर– विभिन्न १५ सूचकहरुमा नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयको अनुगमन सुरु गरेको छ । शिक्षाको गुणस्तरियतामा जोड दिदै सो गापाले तारकेश्वर ३ का विद्यालयवाट अनुगमन सुरु गरेको हो ।

सो वडामा रहेका एक माविसहित पांच वटा विद्यालयमा अनुगमन गरिएको हो । अनुगमनमा व्यवस्थापन समिति, शिक्षक विद्यार्थी उपस्थिति, दिवा खाजा तथा मेनु, स्काउट, वाल क्लव, रेडक्रस, परिक्षा मुल्यांकन स्थिति, भवन, फर्निचर, खेल मैदान, शौचालय, पिउनेपानी, सरसफाइलगायत १५ सूचकको एकैपटक अनुगमन गरिएको तारकेश्वर गापा शिक्षा शाखाले जनाएको छ ।

अनुगमनमा शैक्षिक तथा खेल सामग्री, दैनिक तथा वार्षिक कार्ययोजना, शिक्षक, कर्मचारी पोशाक, प्रत्येक महिनाको पहिलो शुक्रवार कायम गरिएको वुक फ्रि डे, छात्रवृत्तिलगायत अन्य अनुदानको सदुपयोग, प्रविधि सामग्रीको अवस्था र प्रयोग, लेखा तथा सामाजिक परिक्षण, शैक्षिक कार्यपात्रोको कार्यान्वयन, मोवाइल प्रयोगको अवस्थालगायतका विषयमा अनुगमन गरिएको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ । पहिलो चरणको अनुगमनका क्रममा विद्यालयमा केहि कमीकमजोरीहरू पाइएकोले अनुगमन टोलीले ति कमीकमजोरी तत्काल सुधार गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

गापा अध्यक्ष अधिकारीले प्रभावकारी, व्यवहारिक, गुणस्तरीय र बालमैत्री शिक्षा सुनिश्चित गर्न नयाँ र परिष्कृत तरिकाबाट गापा क्रियाशील रहेको र यसमा विद्यालय पनि अगाडि बढ्नुपर्नेमा जोड दिए । तारकेश्वर गापा शिक्षा शाखाकी शिक्षा सहजकर्ता मञ्जु प्रधानको नेतृत्वमा गाउँ प्रहरीसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो ।

केही विद्यालयमा भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको अभाव देखिएको कारण तुरुन्तै सुधारका काम सुरु गरिने जानकारी गराइएको छ । साथै, जातीय मौलिक पोशाक तथा ‘बुक फ्रि डे’ जस्ता कार्यक्रमलाई पूर्ण रूपमा प्रभावकारी बनाउने विषयमा पनि विशेष ध्यान दिन निर्देशन दिइएको छ ।  शिक्षाको गुणस्तरियताका लागि अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ । तारकेश्वर गापामा ६ वटा वडामा कुल सात वटा माविसहित ३४ वटा विद्यालय रहेका छन् ।


सर्वाधिक रुचाइएको