रक्तदान तथा सरसफाई गरि प्रहरी दिवस

– ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण
लोकखबर
२०८२ आश्विन २९, बुधबार २१:४१

बिदुर– नेपाल प्रहरीले आफ्नो ७० औं प्रहरी स्थापना दिवस नुवाकोटको विदुरमा विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान, सरसफाई र ज्येष्ठ नागरिकलाई फलफुल वितरण गरि प्रहरी स्थापना दिवस मनाएको हो ।

नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य भन्ने मुख्य नाराका साथ जिल्ला प्रहरी कार्यालयमा वृहत रक्तदान, विदुरस्थित कार्यालय तथा रुद्रेश्वर मन्दिर तथा रावलधारा परिसर सरसफाई र देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरि दिवस मनाएको हो । कार्यक्रममा नेपाल प्रहरी जनताको सेवा र सुरक्षामा सधैँ प्रतिबद्ध रहेको र दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले बताए ।

रेडक्रस नुवाकोटको प्राविधिक सहयोगमा सन्चालित रक्तदान कार्यक्रममा प्रहरी र सर्वसाधारण गरि २९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा त्रिशूली अस्पतालको सहयोगमा चिकित्सकमार्फत प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

यसका साथै मातहत प्रहरी कार्यालयहरुबाट समेत नजिक रहेका मठ, मन्दिर, सार्वजनिक स्थल सरसफाई गरिएको छ । त्रिशूली अस्पताल नुवाकोटका प्रमुख डा. राजेन्द्र लामाको नेतृत्वमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

 

 


सर्वाधिक रुचाइएको