संघमा चार कलाकार मनोनित
बिदुर-नेपाल चलचित्र कलाकार संघको रिक्त पदमा विभिन्न कलाकारहरु मनोनित भएका छन् । दुई उपाध्यक्ष र दुई सदस्य मनोनित गरिएका हुन् ।
संघले उपाध्यक्षमा जयन्तप्रसाद रेग्मी र राजकुमार शाह तथा सदस्यहरुमा जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरेको हो । संघले वर्तमान कार्यसमितिमा रिक्त रहेको विभिन्न पदमा पदाधिकारी र सदस्यहरुको मनोनित गरेको हो ।

संघको पुर्ण बैठकले सङ्घको बिद्यानको परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम पदाधिकारीहरुको मनोनित गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनका अनुसार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चारजनालाई मनोनीत गरी कार्यक्रमबीच शपथग्रहण गराएको छ ।

अध्यक्ष मोहन निरौलाले चारैजनालाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष निरौलाले सदस्यता वितरण र नवीकरणमा विधानअनुसारको मापदण्ड कडाइका साथ लागू गरिएको, लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाइएको तथा संघका अन्य सुधारात्मक कार्यबारे जानकारी गराएका थिए ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ चलचित्रकर्मी तथा कानूनी सल्लाहकार कृष्ण ढुंगानालगायतले कलाकारको हकहितको सुनिश्चीत र क्रियाशीलताका लागि शुभकामना व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल बैरागीले कलाकारहरुको पेशागत मर्यादाको संघले सदैव सम्मान गरिरहेको वताए ।

कार्यक्रममा संघका कोषाध्यक्ष सुनील कटुवाललाई यहि नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतमा आयोजित इन्टरनेसनल फेडेरेसन अफ एक्टर्स एफआइएको अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न लागेकामा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सो सम्मेलनमा नेपालसहित ६० देशका ४ सय ५० भन्दा बढी चलचित्रकर्मी र संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम पनि तय भएको छ ।














































