माग्ने वुढाले गरे सहयोग 

–वोर्डद्वारा रक्तदान
लोकखवर मनोरन्जन संवाददाता
२०८२ कार्तिक २४, सोमबार २१:२८

बिदुर-चर्चित हास्य कलाकार तथा अभिनेता केदारप्रसाद घिमिरे (माग्ने बुढा)ले चलचित्र पत्रकारलाई सहयोग गरेका छन् । उनले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद सहयोग गरेका हुन् ।

चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई अझै सशक्त र दिगो बनाउन ‘कल्याणकारी कोष अभियान’ सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत  अभिनेता घिमिरेले संघलाई नगद  २५ हजार रुपैया  हस्तान्तरण गरेका हुन् ।

अभिनेता घिमिरेले आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही प्रतिशत  समाजसेवामा खर्च गर्दै आएका छन् । चलचित्र क्षेत्रको पछिल्लो दिनमा गहन पारिश्रमिकका कलाकारका रूपमा परिचित घिमिरेले सामाजिक उत्तरदायित्वअनुसार सामाजिक क्षेत्रमा योगदान गरेका हुन् ।  सहयोगलाई आफुले निरन्तरता दिने घिमिरेको भनाई छ । घिमिरेले चलचित्र पत्रकारहरूको समस्यामा महत्वपूर्ण सहयोग गरेकोमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर वलामीले आभार व्यक्त गरेका छन् ।
संघको कोषले अहिलेसम्म २० जना भन्दा वढि पत्रकारहरूको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ । विनासकारी भूकम्प, कोरोना महामारीलगायतका विपत्ती र संकटका समयमा पनि पत्रकारहरूलाई राहत र उपचार सहयोग गर्दै आएको अध्यक्ष वलामीको भनाई छ । सम्पूर्ण चलचित्रकर्मी, कलाकार तथा शुभेच्छुक महानुभावहरूलाई चलचित्र पत्रकार कल्याणकारी कोषमा आफूले सकेको रकम सहयोग गरी सहभागिता जनाउन संघले अनुरोध गरेको छ ।
सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, ‘मैले आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु ।  यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गरेको र पत्रकारहरू नै हाम्रो सिर्जनालाई दर्शकसम्म पु¥याउने माध्यम भएका कारण उहाँहरूको सहयोग हाम्रो दायित्व पनि हो ।’
अभिनेता घिमिरेको यो सहयोगले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश र एकताको भावना जगाउने संघको विश्वास छ ।
वोर्डद्वारा रक्तदान
चलचित्र विकास वोर्डले राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । ८८ जना भदा वढिले रक्तदान गरेका छन् ।  चलचित्र विकास बोर्डको परिसरमा गरिएको रक्तदान कार्यक्रममा कलाकार, निर्माता, निर्देशक, सर्वसाधारण तथा चलचित्रकर्मीहरुले रक्तदान गरेका थिए । रेडक्रस केन्द्रीय रक्तसञ्चार विभागको सहकार्यमा सम्पन्न एकैपटक १२ जनाले रक्तदान गर्ने व्यवस्था मिलाइएको थियो ।
सयौं चलचित्रकर्मीहरूको सहभागिता रहेको कार्यक्रमले सहभागिता, समन्वय र सामाजिक उत्तरदायित्वप्रतिको उद्योगको प्रतिबद्धता प्रष्ट देखाएको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । उनका अनुसार उक्त सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ । कलाकार, निर्देशक, निर्माता, प्राविधिकदेखि सर्वसाधारणको सहभागिताले कार्यक्रमलाई चलचित्र समुदायको साझा उत्सव बनाइदिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको भनाई छ ।
उनले कुनै चलचित्र महोत्सव जत्तिकै उत्साह देखिएको रक्तदान कार्यक्रमले “नेपाली चलचित्रकर्मी पर्दामा मात्र होइन रियल लाइफमा पनि नायक बन्न सक्छन्” भन्ने सन्देश  दिएको वताए  ।  कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले “चलचित्रकर्मीहरूको सामाजिक सहभागिता नै हाम्रो वास्तविक शक्ति भएको जनाउंदै  रक्तदानजस्तो मानवीय कार्यले चलचित्र क्षेत्रको राष्ट्रिय योगदानलाई अझ मजबुत बनाएको छ” भने । बोर्डले आगामी दिनमा पनि यस्ता प्रभावकारी सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।


सर्वाधिक रुचाइएको